Jagaran Nepal बिहिबार, साउन २२, २०७७

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । भाइरस संक्रमणबाट पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

कोरोना संक्रमणबाट वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो । वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतक मधुमेहका बिरामी हुन् । साउन १८ गते कोरोना संक्रमण परीक्षण गराएका उनमा संक्रमण पुष्टि भएको थियो ।

यस्तै १९ गते मृत्यु भएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमाण पुष्टि भएको छ । झाडावान्ता भएपछि उनलाई सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो । तर इमर्जेन्सीमा पुग्नासाथ चित्किसकले मृत घोषणा गरे । स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल विराटनगरका मेडिकलका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको बताएको हो । यस्तै बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भएको छ । सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै सप्तरीमा मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएका उनी होम क्वारेन्टिनमा थिए । मंगलबार साँझ ज्वरो आउनुका साथै श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो । मृत्युपछि स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।