Jagaran Nepal बुधबार, साउन २१, २०७७

काठमाडौं । विश्वव्यापी रुपमा कोरोनाको नियन्त्रण हुन नसक्दा सुनको भाउ थप बढ्ने आँकलन गर्न थालिएको छ। एक सातादेखि सुनको भाउले नयाँनयाँ रकर्ड बनाइरहेको छ।

नयाँ रेकर्ड बन्ने क्रममा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔन्स २३ सय डलरसम्म पुग्ने आँकलन गर्न थालिएको विश्लेषक तेजरत्न शाक्यले बताए। उनले भने, ‘सुन अझै बढ्ने देखियो पछिल्लो समय नयाँ अनुमान गर्न थालिएको छ। हिजो अस्तिसम्म प्रतिऔन्स २ हजार डलरसम्म पुग्छ भन्ने आँकलन गरिएकोमा अब २२/२३ सय डलरसम्म पुग्ने देखिन्छ।’ यदि कोभिड नियन्त्रण भएमा भाउ धेरै नै घट्ने शाक्यको विश्लेषण छ। तर, नियन्त्रण हुने कुनै छाँटकाँट छैन।

विज्ञहरुका अनुसार बजार बढ्नुकाे प्रमुख कारण कोभिड १९ को प्रकोप हो। दोस्रोमा अन्तर्राष्ट्रिय मुद्रा कोषले ब्याजदर घटाएर हो। ब्याजदर घटाउँदा लगानीकर्ताले बैंकबाट पैसा झिकेर सुनमा लगानी गर्न थालेका हुन्। तेस्रो कारण यस वर्ष सुनको उत्पादन नै घटेको छ। कोभिडका कारण सुनका खानीहरु सञ्चालन हुन सकेनन्।
उत्पादन कम हुने बित्तिकै सप्लाइ पनि धेरै कम भयो। माग र आपूर्तिको सन्तुलनका आधारमा सुनको भाउतय हुने भएकाले एकातिर उत्पादन नहुने अर्कोतर्फ लगानीकर्ताहरु सुनमा मात्रै केन्द्रित हुँदा स्वभाविक रुपमा बढ्ने विश्लेषकहरु बताउँछन्। पछिल्लो कारण चीन र अमेरिका बीचको द्वन्द्वले गर्दा पनि हो। द्वन्द्वले गर्दा वाणिज्य दूतावास नै बन्द गर्नुपर्ने स्थिति आयो।

अष्ट्रेलिया, जर्मनीलगायतका देशहरुसँग पनि चीनको सम्बन्ध चिसिदै गएको छ। अर्कोतर्फ कोरोनाको कहरले चीनमा आर्थिक मन्दी ल्याइसकेको छ। जसले गर्दा मूल्य वृद्धि आकासी सकेको छ। यिनै कारणले लगानीकर्ताको पहिलो रोजाइमा सुन पर्न गएको बताइन्छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्ने बित्तिकै नेपालको स्थानीय बजारमा पनि बढिरहेको छ। नेपालमा सुनको भाउ बढ्नुको प्रमुख कारण चालु आर्थिक वर्षको बजेटले प्रति १० ग्राम २ हजार रुपैयाँ थप कर तिर्नु पर्‍याे। सुन खरिद कर्ताले एक तोला सुन खरिद गर्दा राज्यलाई १० हजार रुपैयाँ कर तिर्नु पर्छ। आज नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार रुपैयाँ नाघेकाे छ।

विश्वकै अर्थतन्त्र कमजोर हुँदै गर्दा सुनले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको हो। अन्तर्राष्ट्रिय बजारमा विगत ५ महिनाको अवधिमा सुनको भाउ प्रतिऔन्स ५ सय डरले बढिसकेको छ।

संकटको समयमा लगानीकर्ताको मनोविज्ञान ‘सुन कहिले पनि नुन हुँदैन’ भन्ने मान्यता रहेको हुन्छ। सुन चाँदीको बजारमा सेयर बजार जस्तो धेरै उतारचढाव नहुने विश्लेषकहरु बताउँछन्। बढ्न थालेपछि उचाइमा पुग्ने र केहि करेक्सनपछि मात्रै घट्ने प्रवृत्तिले गर्दा यसको मूल्य अझै उचाइमा पुग्ने विश्लेषण गरिएको हो।

बैंकहरुले नोट निष्काशनका क्रममा बण्ड डिवेन्चर तथा विदेशी मुद्रालाई भन्दा सुनलाई बढी प्राथमिकता दिँदा पनि सुनको माग बढेको सुनचाँदी व्यवसायी महांसघका निवर्तमान अध्यक्ष माणिक रत्न शाक्यले बताए। संसारका अधिकांश केन्द्रीय बैंकहरु नोट निष्काशन गर्दा आवश्यक पर्ने डिपोजिटको रुपमा सुनका साथै बण्ड तथा विदेशी मुद्राहरु राख्थे।

बासेल-३ ले बैंकहरुलाई नोट निष्काशनका लागि आवस्यक पर्ने डिपोजिटको रुपमा डिवेन्चर तथा विदेशी मुद्रालाई भन्दा सुनजस्ता ठोस बस्तुमा ध्यान दिनुपर्ने मान्यता राखेको छ।

यस नीतिअनुसार सन् २०२२ सम्ममा केन्द्रीय बैंकहरुले सुनजस्ता भौतिक डिपोजिटलाई अनिवार्य रुपमा राख्नु पर्नेछ। त्यसैले गर्दा पछिल्लो समय सुनको नयाँ खरिदकर्ताको रुपमा केन्द्रीय बैंकहरु अगाडि छन्। उनिहरु वर्षेनी सुनको मौज्दात बढाउने पक्षमा छन्। गत वर्षमात्रै केन्द्रीय बैंकहरुले ६५० टनभन्दा धेरै सुन खरिद गरेका थिए। आगामी दिनमा यो क्रम अझै बढ्ने आँकलन गरिएको छ। -NEPALLIVE.COM बाट साभार