Jagaran Nepal बुधबार, साउन २१, २०७७

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग भगवान रामको आत्मीय सम्बध माता जानकीसँग जोडिएको बताएका छन।

बुधबार भगवान रामको जन्मस्थल अयोध्या नगरीमा राम मन्दिरको शिलान्यास गर्दै प्रधानमन्त्री मोदीले माता जानकीसँग जोडिएको सम्बन्धका कारण श्रीरामसँग नेपालको घनिष्ट सम्बन्ध रहेको पनि बताए। भगवान राम र माता जानकीका माध्यमबाट जोडिएको नेपाल-भारत सम्बन्ध आत्मीय रहेको मोदीको भनाई थियो।

मोदीले आफ्नो सम्बोधनमा चीन, नेपाल, श्रीलंका, मलेशिया, इन्डोनेशिया, कम्बोडिया जस्ता देशमा पनि भगवान रामको अस्तित्वको वर्णन गरेका थिए। ती देशमा पनि भगवान राम पुजनीय रहेको उनले बताएका थिए।

नेपालले कालापानी, लिन्पियाधुरा र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेपछि मौन बसेका मोदीले बुधबार सार्वजनिक कार्यक्रममा पहिलो पटक नेपालको नाम लिएका हुन।

भानुजयन्तिको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमी नेपालमै रहेको तथा भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका थिए।

प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको नेपालमै आलोचना भएको थियो भने भारतको सत्ताधारी दल विजेपीले विज्ञप्ति मार्फत विरोध जनाएको थियो।

नेपाली राजदूतको प्रतिक्रिया

मोदीको सम्बोधनपछि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले दुई देशको सम्बन्धलाई आधुनिक समयअनुसार सुदृढ बनाउनुपर्ने बताएका छन्।

राजदूत आचार्यले ट्विट मार्फत दुई देशको सम्बन्धलाई बढ्दो सहयोगात्मक र सुदृढ बनाउन राम(जानकीले प्रेरणा दिइरहुन् भन्ने कामना गरेका छन्।

अरु के भने मोदीले?

मोदीले अयोध्यामा भगवान रामको मन्दिर बन्नु भारत वर्ष र हिन्दूधर्ममा आस्था राख्नेहरूका लागि ठूलो सौभाग्य रहेको बताए।

उनले सम्बोधनका क्रममा पटक पटक भगवान रामको जन्म अयोध्यामा भएको दोहोर्‍याएका थिए।

प्रधानमन्त्री मोदीले भारतका लागि राम मन्दिर राष्ट्रिय एकता र राष्ट्रिय भावनाको प्रतीक रहेको समेत बताए।

उनले भने जसरी स्वतन्त्रता दिवस लाखौं बलिदान र स्वतन्त्रताको भावनाको प्रतीक हो, त्यसैगरि राम मन्दिरको निर्माण धेरै पुस्ताको अखण्ड तपस्या, त्याग र संकल्पको प्रतीक हो।

धोती र मोदीले बुधबार रामजन्मस्थल अयोध्यामा चाँदीको इँटा राखेर राम मन्दिरको शिलान्यास गरेका हुन्।

सन् १९९२ मा भगवान् रामको मन्दिर रहेको स्थानमा बनाइएको भन्दै मध्यकालीन मस्जिद हिन्दूहरुले भत्काइदिएका थिए। त्यसपछि हिन्दू र मुस्लिम समुदायबीच एक शताब्दीभन्दा लामो समयदेखि विवाद रहँदै आएको थियो।

भारतीय सर्वोच्च अदालतले उक्त क्षेत्र राम मन्दिर निर्माणको लागि दिनुपर्ने फैसला गत बर्ष सुनाएपछि विवाद साम्य भएको थियो।