Jagaran Nepal बुधबार, साउन २१, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ५७ जना र ललितपुरका ५ जनामा कोरोना संक्रमण देखिएको हो।

त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ६२ जनामा संक्रमण देखिएको थियो।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन पूर्णरुपमा खोलिएको र सर्बसाधारणको भिडभाड बढेको कारण र बाहिर जिल्ला र विदेशबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड १९) का ३ सय ८१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशलामा आरटी पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ३ सय ८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ६ हजार ३ सय ५९ जनाको आरटीपीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ३ सय ८१ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कूल संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ३० जना संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १ सय ५६ जना संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ छ ।

नेपालमा हालसम्म आरटी पीसीआर विधिबाट ४ लाख १२ हजार ९ सय ५३ जनाको नमूना परीक्षण गरिएको छ । यस्तै, हाल देशभर गरी ९ हजार ९ सय २५ जना क्वारेन्टाइनमा रहेका छन् ।