Jagaran Nepal बुधबार, साउन २१, २०७७

काठमाडौं । बुधबार(आज) सुनको मूल्य एक लाख रुपैयाँ नाघेको छ । केही समय अघिदेखि निरन्तर उकालो लागेको सुनको मूल्य तोलाको एक लाख नाघेको पहिलो पटक हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै तेजावी सुनको भाउ एक लाख ९ सय पुगेको छ । यस्तै चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेकाले नेपालमा पनि यसको प्रभाव परेको हो ।

आयातमा भने गिरावट

सुनको भाउ निरन्तर उकालो लाग्दै जाँदा नेपालमा सुन आयातमा भने भारी गिरावट आएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा सुन आयात ६०.६ प्रतिशतले घटेको छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउन र त्यसपछि बढेको सुनको मूल्यका कारण अहिले सुन पसलहरु सुनसा नबनेका छन् । तिज नजिकिएको भएपनि पसलहरुमा सुन किन्ने ग्राहक नभएको व्यवसायीहरु बताउँछन् ।

त्यसो त लकडाउन अघि नै सरकारले व्यापार घाटा कम गराउने प्रयास स्वरुप प्रतिदिन २० किलो सुन आयात गर्न पाउने व्यवस्थालाई घटाएर १० किलोमा सीमित गरेको थियो । सो कारणले पनि सुन आयात कम भएको हो ।

तथ्यांक अनुसार गत आर्थिक वर्षमा १३ अर्ब ६३ करोडको सुन आयात भएको छ । अघिल्लो आव २०७५÷७६ मा भने ३४ अर्ब ६३ करोड रुपैयाँको सुन आयात भएको थियो । त्यस्तै, चाँदी आयातमा पनि ४१ प्रतिशतले कमी आएको छ ।

३ सय २१ किलो सुन बैकमा थन्कियो

हाल बैंकहरूले आयात गरेको ३ सय २१ केजी सुन बिक्री हुन सकेको छैन । नेपाल बैंकर्स संघका अनुसार गत ९ साउनसम्म उक्त परिमाणको सुन बैंकमा स्टक रहेको छ ।

किन बढिरहेको छ सुनको मूल्य ?

अहिले विश्व बजारमा सुनको मूल्य दिनप्रतिदिन बढिरहेको छ । आगामी केही समय सुनको मूल्य अझै बढ्न सक्ने अनुमान व्यवसायीको छ ।

वल्र्ड गोल्ड काउन्सिलले २०२१ को शुरुका केही महिना मै सुनको मूल्य बढेर २८ सयदेखि ३ हजार डलर पुग्ने अनुमान गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले सुुनको मूल्यमा लगाम लाग्ने अवस्था नदेखिएको बताए । सुनको मूल्य वृद्धि भएपनि सुनको महत्वमा कमी भने नआउने उनको भनाइ छ ।

गत वर्षदेखि अमेरिका र चीनबीच देखिएको व्यापार युद्धका कारण सुनको मूल्य बढ्न शुरु भएको थियो । त्यसतै अमेरिका इरान तनावले पनि गत आर्थिक वर्षको शुरुदेखि नै सुनको मूल्य बढेको थियो ।

अहिले पनि अमेरिका चीनबीचको तनाव जारी रहेको छ भने कोरोना भाइरसका कारणपनि मानिसहरुले धन सञ्चितिका लागि सुनमा लगानी गर्न थालेका कारण सुनको मूल्यमा भारी बृद्धि भएको हो ।

पछिल्लो समय डलर कमजोर बन्दै गएको छ जसका कारण मानिसहरुले डलरमा भन्दा सुनमा बढी लगानी गरिरहेका छन् ।