Jagaran Nepal सोमबार, साउन १९, २०७७

काठमाडौं । गएका ११ दिनयता कोभिड-१९ को संक्रमणका कारण नेपालमा १२ जनाको मृत्यु भयो, जसमध्ये ११ जना पर्साका हुन् । साउन १६ गते ललितपुरको पाटन अस्पतालमा मृत्यवरण गरेकी एक संक्रमित महिलाको ट्राभल हिस्ट्री पनि वीरगञ्जसँगै जोडिएको छ ।

एक समय आइसोलेसन वार्ड भरिएर संक्रमित राख्ने ठाउँ नभएको नारायणी अस्पताल असारको अन्तिम साता एकाएक खाली हुँदै थियो । त्योबेला अस्पतालको आइसोलेसनमा एक जना बारा जिल्लाका संक्रमित निको भएर घर जाने क्रममा थिए ।

अरु संक्रमित नथपिएकाले नारायणी अस्पतालका चिकित्सकहरु लामो समयपछि आराम पाउनेमा आशावादी थिए ।
तर, सबै कुरा उनीहरुले सोचेभन्दा विपरीत भयो । र, १५ दिन यता वीरगञ्ज फेरि कोरोनाको ‘हटस्पट’ बन्यो ।
सहज अवस्थामा आइपुगेको वीरगञ्ज फेरि कसरी कोरोनाको ‘हटस्पट’ बन्न पुग्यो त ?

वीरगञ्जको अफ्ठ्यारो सुरु हुन्छ असार २९ गतेबाट ।

असार २९ गते रौतहटका एक संक्रमित नारायणी अस्पतालमा भर्ना भए । उनको ट्राभल हिस्ट्री भारत थियो । अस्पतालमा भर्ना भएको २ दिनमा भेण्टिलेटरमा राखेका बेला उनको मृत्यु भयो । ती संक्रमित अस्पताल पुग्दा सामान्य रुघाखोकी बाहेक स्वास्थ्यमा अन्य समस्या थिएन । न सुगर थियो, न मुटु तथा किड्नीको समस्या । उमेर पनि ३६ वर्ष मात्र थियो । पिसाबमा पनि कुनै ‘इन्फेक्सन’ थिएन ।

पटक पटक स्वास्थ्य जाँच गर्दा पनि शरीरका सबै अंगले राम्रोसँग काम गरिरहेका थिए । अक्सिजनदेखि मुटुको चालसम्म कुनै गडबडी थिएन । अर्थात उनको स्वास्थ्य जटिल अवस्थामा गुज्रिएको या गुज्रिँदै गएको कुनै पनि मेडिकल संकेत चिकित्सकहरूले पाएनन् ।

‘ती बिरामीले वीरगञ्जमा जोखिम टरेको होइन, झन बढेको छ भन्ने स्षपष्ट संकेत दिए’, कोभिड विशेष अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंह भन्छन्, ‘त्यही मृत्युको केसपछि वीरगञ्जमा फेरि संक्रमणले रफ्तार लिएको हो ।’

डा. सिंहका अनुसार असारको अन्तिम सातातिर परीक्षण घट्दै गएकाले संक्रमित पनि घट्दै थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेस्टिङ प्रोटोकलका कारणले धेरै मानिसलाई परीक्षण गर्न सम्भव पनि थिएन । त्यहीबेला स्वास्थ्य मन्त्रालयले नारायणी अस्पताललाई भिसा तथा निरोगिताका लागि प्रोटोकलमा नपर्ने मानिसहरुको शुल्क लिएर कोभिड १९ परीक्षण गर्न अनुमति दियो ।

त्यहीबेला अन्य प्रयोजनका लागि शुल्क तिरेर टेस्ट गर्न पुगेका लक्षणविहीन मानिसलाई संक्रमण देखियो । ‘व्यापक टेस्ट नगरिएकाले पो संक्रमित धेरै नभेटिएका रहेछन्’ डाक्टर सिंह भन्छन्, ‘त्यसपछि त लक्षण भएका धेरै मानिसरुलाई संक्रमण देखियो ।’

गएका १५ दिनमा वीरगञ्जमा २६० जनाभन्दा बढी मानिस संक्रमित भएका छन् । जसमध्ये ५० प्रतिशत भन्दा बढीलाई कोरोनाको लक्षण छ भने १५ देखि प्रतिशतलाई कडा लक्षण । ५ जना अहिले आइसीयूमा उपचाररत छन् । संक्रमितमध्ये ९० प्रतिशत वीरगञ्जकै स्थानीय छन् भने उनीहरुको संक्रमण स्रोत भेटिएको छैन । २८ जना स्वास्थ्यकर्मी पनि कोरोना संक्रमित भइसकेका छन् । यो सङ्ख्या अझै बढ्ने डा. सिंह बताउँछन् ।

‘सोही कारण हामीले यहाँ संक्रमण समुदायमा गयो भनेको हो’ डा. सिंह भन्छन्, ‘यो अवस्थामा यहाँ कन्ट्याक ट्रेसिङ सम्भव नै छैन्, त्यसैले मास टेस्टिङको आवश्यक छ ।’

वीरगञ्जको गल्ती, जसका कारण फेरि यो अवस्था आयो

गत चैत २९ गते तीनजना भारतीय जमातीमा संक्रमण पुष्टि भएपछि संक्रमितको सङ्ख्या बढ्न थाल्यो । त्यसबेला नारायणी अस्पतालको आइसोलेसन भरिएर राख्ने ठाउँ थिएन । बिस्तारै संक्रमितको ग्राफ घट्न थाल्यो भने लकडाउन पनि खुकुलो हुदैँ गयो ।

लकडाउन खुकुलो भएपछि भारतीय नाकाबाट लुकिछिपी आउने मानिसको क्रम पनि बढ्दै गयो, जसलाई क्वारेन्टिनमा राख्ने काम कुनै स्थानीय तहबाट भएन ।

लकडाउन खुकुलो बनाउनु नै वीरगञ्जमा संक्रमित बढ्नुको मूख्य कारण रहेको डा. सिंह बताउँछन् । लकडाउन खुल्दा सर्वसाधारणले कोरोना जितेको जसरी व्यवहार गर्नु अर्को गल्ती रहेको उनको जिकिर छ ।

‘भारतबाट अवैधरुपमा धेरै मानिसहरु नेपाल छिरे, क्वारेण्टिनमा नबसिकन काम गरे र व्यापारीहरुले पनि भारतबाट धेरै कामदार ल्याएर काममा लगाए’ डा सिहं भन्छन्, ‘यी र यस्तै लापरवाहीका कारण वीरगञ्ज कोरोनाको हटस्पट बनेको हो ।’

काठमाडौंको अवस्था पनि उस्तै

पछिल्ला परिदृश्यहरु हेर्दा वीरगञ्ज र काठमाडौंको अवस्था उस्तै छ । अर्थात आजभन्दा १५/२० दिन अगाडीको वीरगञ्ज परिदृश्य काठमाडौंमा देखिन थालेको छ । अहिले पनि वीरगञ्जमा दैनिक ७० जनाको हाराहारीमा संक्रमित भेटिँदा काठमाडौंमा ३० जनाको हाराहारीमा संक्रमित भेटिएका छन् ।

जसरी वीरगञ्जमा भारतबाट मानिसहरु लुकिछिपी छिरेका थिए, त्यसैगरी काठमाडौंमा पनि संक्रमण फैलिएका तराईका जिल्लाबाट मानिसहरु दिनहुँ छिरेका छन् । काठमाडौं छिर्ने सबैको परीक्षण गरिएकै छैन ।

काठमाडौंको महाबौद्धमा भारत ट्राभल हिस्ट्री भएको मानिसको सम्पर्कमा आएको मानिसमा संक्रमण देखिएको छ भने वीरगञ्ज ट्राभल हिस्ट्री भएकी एक ६५ वर्षीया महिलाको पाटन अस्पतालमा मृत्यु भइसकेको छ ।

नक्सालस्थित नेपाल प्रहरीको हेडक्वार्टरमा मात्र ७२ जना संक्रमित भेटिएका छन् । उनीहरुको सम्पर्कमा आएका ५६ जनालाई क्वारेण्टिनमा राखिएको छ । त्यसै गरी ट्राफिक प्रहरीका २ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार जेष्ठ १६ गतेदेखि ३२ गतेसम्म उपत्यकामा १५ जना संक्रमित थिए । असार १ गतेदेखि असार १५ सम्म त्यो सङख्या बढेर ५२ पुग्यो ।

असार १६ देखि ३१ गतेसम्म उपत्यकामा २७२ सक्रिय संक्रमित भेटिए भने साउन १ गतेदेखि १८ गतेसम्मउपत्यकामा २४९ जना सक्रिय संक्रमित छन् ।

यी तथ्यहरुले काठमाडौं पनि वीरगञ्जजस्तै हटस्पट बन्दै गएको संकेत दिएको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

‘वीरगञ्जको गल्ती काठमाडौंले दोहोर्यायो भने काठमाडौंमा पनि त्यही हालत हुन्छ’ स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘वीरगञ्जमा जस्तै यहाँ पनि कन्ट्याक ट्रेसिङ गर्न सकिएको छैन, त्यो नै काठमाडौंका लागि ठूलो गल्ती हुन सक्छ ।’

उनका अनुसार वीरगञ्जबाट काठमाडौंले मुख्य कुरा तीन कुरा सिक्नुपर्छ ।

पहिलो, सरोकार पक्ष र सर्वसाधारण दुबै पक्षले कोरोना महामारी निर्मूल भइसक्यो भन्ने मानसिकता त्याग्ने ।

दोस्रो, जोखिम समूह र दीर्घरोगीलाई मात्र होइन, संक्रमण भेटिएको ठाउँमा मास टेस्टिङ गर्ने ।

तेस्रो, काठमाडौं छिर्ने नाकाहरु केही दिन बन्द गर्ने, यो वीचमा छिरिसकेकाहरुलाई क्वारेन्टिनमा राख्ने ।

‘भारतबाट लुकिछिपी वीरगञ्ज छिरेर उद्योग कलकारखानामा काम गर्ने मजदुरहरुका कारण त्यहाँ फेरि संक्रमणले यो रुप लिएको भन्ने हामीलाई रिपोर्टिङ भएको छ’ मन्त्रालयका ती अधिकारीले भने, ‘भारतबाट वीरगञ्ज छिरेजस्तै विभिन्न जिल्लाबाट काठमाडौं छिर्नेहरुलाई रोकिएन भने काठमाडौंमा डढेलो लाग्न सक्छ ।’

काठमाडौंमा डढेलो लाग्न सक्ने स्वयं स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि स्वीकारेका छन् । आइतबार एक समाचार एजेन्सीसँगको भिडियो कुराकानीमा मन्त्री ढकालले भने, ‘काठमाडौंमा आगो सल्कियो अथवा डढेलो लाग्यो भने त्यो बिस्फोटक हुन सक्छ ।’

काठमाडौंमा के गरिनुपर्छ ?

संक्रामक रोग विशेषज्ञ वीरगञ्जमा संक्रमण र मृत्युको रफ्तार बढ्नुको कारण अध्ययन नगरी अनुमानका भरमा भन्न नसकिने बताउँछन् । यस्ता केसहरुको स्वास्थ्य मन्त्रालयले छुट्टै अध्यन गर्नुपर्ने उनको तर्क छ । ‘कतिपय मृत्युको केस कुराहरु टेक्निकल हुन सक्छन्, कतिपय कुराहरु अस्पतालको क्षमतामा भर पर्लान्’ डा. सुवेदी भन्छन्, ‘अक्सिजन तत्काल चाहिने बिरामीलाई ढिलो गर्दा पनि मृत्य हुन सक्छ र टेस्ट र कन्ट्याक ट्रेसिङ नगर्दा एक व्यक्तिबाटै संक्रमण समुदायमा फैलिन सक्छ ।’

लापरवाही नसुधारे वीरगञ्जभन्दा भयावह अवस्था काठमाडौंमा आउन सक्ने डाक्टर सुवेदी बताउँछन् । उनका अनुसार सीमा नाकाबाट छिरिसकेका मानिस र अब छिर्दै गरेका मानिसलाई व्यवस्थित क्वारेण्टिन नगरे महामारी नियन्त्रण गर्न कसैले सक्दैन ।

‘अहिलेसम्म उपत्यकामा देखिएका आधाभन्दा बढी संक्रमितलाई कन्ट्याक ट्रेसिङ गरिएको छैन्, आधाभन्दा बढी संक्रमितको सम्पर्क स्रोत थाहा छैन, र यहीबेला नाकाबाट छिर्ने मानिसहरु मनपरी हिँडिरहेका छन्’ डाक्टर सुवेदी भन्छन्, ‘अस्पताल सिस्टमले भ्याउनेभन्दा बढी संक्रमित भए भने राज्यले थेग्न सक्दैन, त्यसैले अहिलेदेखि नै सावधानी अपनाउनुपर्छ ।’

काठमाडौंमा महामारी फैलिनबाट रोक्न सरकारले अहिलेदेखि नै नयाँ रणनीति अपनाउनुपर्ने डाक्टर सुवेदी बताउँछन् । समयमै संक्रमण रोक्ने प्रयास गरिएन भने अवस्था नाजुक हुने बताउँदै उनी भन्छन्, ‘अवस्था भयावह भएपछि लकडाउन गर्नुभन्दा त नाकाबाट छिरिसकेकालाई व्यवस्थित गर्न, अब नाकाबाट छिर्न नदिन र कन्ट्याक ट्रेसिङ गर्न दिन केही समय लकडाउन गर्नुपर्छ ।’

स्वास्थ्य मन्त्रालयले काठमाडौं छिर्ने नाकाबाट आउने मानिसको व्यावस्थापन, भिडभाड कम गर्नको लागि यातायातमा जोर बिजोर प्रणाली र विभिन्न कार्यालयहरु बन्द गर्ने गरी आन्तरिक छलफल गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् । उनका अनुसार अबको केही दिनमा काठमाडौंमा नयाँ रणनीतिअनुरुप यातायात चल्ने तथा कार्यालयहरु खुल्ने हुन्छन् ।

‘पूर्ण लकडाउनक नहोला, तर हामी विज्ञहरुसँग परामर्श लिँदैछौं’ डाक्टर गौतमले भने, ‘छलफलका लागि यो प्रस्ताव कोरोना उच्चरस्तरीय समन्वय समितिमा पनि पठाएका छौं ।’

कोभिड १९ नयाँ भाइरस भएकाले विश्वले नै गल्ती गरिरहेको प्रवक्ता गौतम बताउँछन् । नेपालले पनि गरेको गल्ती सुधार्दै अगाडि बढ्ने बताउँदै उनी भन्छन्, ‘हामी सिक्दै, गर्दै जाने हो, वीरगञ्जको गल्ती काठमाडौंमा दोहोरिन्न ।’ -onlinekhabr बाट