Jagaran Nepal सोमबार, साउन १९, २०७७

काठमाडौं- नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा कन्भासेन्ट थेरापी दिइएको छ। पहिले संक्रमित भएर निको भएका व्यक्तिबाट झिकिएको रगतबाट प्लाज्मा बनाएर संक्रमित व्यक्तिलाई उक्त प्लाज्मा दिइने विधिलाई प्लाज्मा कन्भासेन्ट थेरापी भनिन्छ। नेपाल पहिलो पटक नुवाकोट स्थायी ठेगाना भई हाल बौद्धमा बस्ने २८ वर्षीय युवाले संक्रमितको उपचारका लागि प्लाज्मा दान गरेका हुन्। उनी भारतबाट आएका थिए। कोरोना संक्रमण भएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार गरिएको थियो।

संक्रमणमुक्त भएपछि उनी प्लाज्मा दिन तयार भएका हुन्। सरकारले प्लाज्मा दान गर्न सार्वजनिक अपिल गरेपछि ती युवाले प्लाज्मा दान गरेका हुन्। शिक्षण अस्पतालमा उपचाररत एक संक्रमितलाई प्लाज्मा थेरापी गर्ने निर्णय भएपछि त्यसका लागि अस्पतालले ग्रान्डी अस्पतालमा कार्यरत ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा विपिन नेपाललाई अनुरोध गरेको थियो। डा नेपाल र उनको टिमले कसरी प्लाज्मा तयार गरेको थियो? प्लाज्मा बनाउने चिकित्सकको अनुभव उनकै शब्दमाः नेपालमा ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञको कमी छ।

जनशक्ति नभएकाले होला शिक्षण अस्पतालले ग्रान्डीसँग अनुरोध गरेको थियो। प्लाज्मा दान गर्ने व्यक्तिको नाम गोप्य राखिएको छ। उहाँलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नै सम्पर्क गरेको थियो। उहाँलाई हामीसँग सम्पर्क गराइएपछि उहाँ असार १५ गते बिहीबार ग्रान्डी अस्पताल आउनु भएको थियो। उहाँलाई हामीले सुरुमा काउन्सिलिङ्ग गर्‍यौँ। ‘उहाँले मैले गर्दा अरुको जीवन जोगिन्छ भने मलाई फेरि दिन मिल्छ भने बोलाउनु होला’भन्नुभएको थियो। उहाँ निकै सकारात्मक सोचका साथ आउनुभएको थियो। हामीले उहाँको २०० मिलिलिटर रगत झिकेका थियौं।

त्यसपछि रगतबाट प्लाज्मा छुट्टयाउने काम सुरु भयो। सबै प्रक्रिया पूरा गरी प्लाज्मा तयार गर्न ४ घण्टा लागेको थियो। खासमा कोभिडमा पहिलो पटक भएर बिरामीमा कस्तो असर गर्ला? सफल होला कि नहोला भन्ने कुरा मनमा लागेको थियो। किनभने, पहिलो प्रयास नै असफल भएमा अरुले प्लाज्मा दान गर्न वा प्लाज्मा लिन नमान्ने वा असफल भयो भनेर नकारात्मक सन्देश जाने सम्भावना पनि भएकाले अलि ‘स्ट्रेस’ पनि ‘फिल’ भएको थियो। हुनतः प्लाज्मा हामीले अन्य रोगका लागि बनाइरहेका हुन्छौँ। अन्य समयमा एक घण्टामा नै तयार गर्न सकिन्छ।

तर, कोभिड-१९ को उपचारका लागि पहिलो पटक भएकाले हामीले अलि बढी सर्तकता अपनाउनु परेको थियो। सकेसम्म राम्रो गुणस्तरको गरौं भनेर पनि लागेका थियौं। त्यसपछि सोही दिन उक्त प्लाज्मा हामीले शिक्षण अस्पतालमा पठाएका थियौँ। अस्पतालमा शुक्रबार राती सो प्लाज्मा संक्रमित व्यक्तिमा दिइएको रहेछ। त्यसको राम्रो रिजल्टले खुसी पनि लागेको छ। एकपटक एकजना व्यक्तिबाट झिकेको प्लाज्माले ४ जनासम्मलाई उपचार गर्न मिल्छ। तर हाम्रो अस्पतालमा यस्तो मेसिन छैन। कतिपय सरकारी अस्पतालमा प्लाज्मा थेरापीका लागि चाहिने मेसिन छ।

तर, जनशक्तिको अभावमा ती मेसिन सञ्चालनमा आएका छैनन्। ती मेसिन सञ्चालन गर्ने हो भने एकपटक झिकिएको रगतले ४ जनाको उपचार गर्न सकिन्छ। नेपालमा ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ एकदमै कम छन्। सरकारले मलाई बोलाएर सहयोग मागियो भने म सहयोग गर्न तयार छु। हरेक एक हप्तामा निको भएको व्यक्तिले रगत दान गर्न सक्छ। तर, एकपटक दान गरेको ३ महिनापछि मात्र रगत दान गर्न सक्ने व्यवस्था सरकारले गरेको छ। पहिलो प्रयास राम्रो भएकाले निकै खुसी लागेको छ। अब धेरै निको भएका व्यक्तिले दान गर्नहुन्छ भन्ने आशा छ। स्वास्थ्य खबरमा कल्पना पौडेलले लेखेकी छन् ।