Jagaran Nepal शनिबार, साउन १७, २०७७

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार काठमाडौं उपत्यकामा ४५ जना कोरोना संक्रमित फेला परेका छन्। तर यो संख्या वास्तविक संक्रमित संख्यासँग मेल खाँदैन।

बिहीबारमात्र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भयो। तर तीमध्ये काठमाडौं ठेगाना लेख्ने १३ जना छन्।

अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले बाँकी १४ जना संक्रमितको नमूना पनि अस्पतालमै संकलन गरिएको जानकारी दिए।

ती संक्रमितहरू उपत्यका बाहिरबाट आएको उनले बताए। बाँकी १४ जना संक्रमितहरूमा बाराका ५ जना, रौतहटका २, सप्तरीका २ र दोलखा, गोरखा, सर्लाही, महोत्तरी र चितवनका एक/एक जना छन्।

यसरी बाहिरी जिल्लाबाट आएकाको उपत्यकामै संक्रमण पुष्टि भए पनि मन्त्रालयले संक्रमितहरूलाई सम्बन्धित जिल्लामै गणना गरेको छ।

यसरी संक्रमितहरूलाई स्थायी ठेगानामा समावेश गर्दा उपत्यकामा संक्रमित संख्या कम देखिएको छ। पछिल्लो समय टेकु सरूवा रोग अस्पतालले परिसरभित्रै संकलन भएको स्वाब परीक्षण गर्दै आएको छ।

निर्देशक राजभण्डारीले भने, ‘केही बाहिरको स्वाब पनि आइरहेको छ। तर धेरै स्वाब अस्पतालमै संकलन गरिएको परीक्षण हुँदै आएको छ।’ उनले अस्पतालमा परीक्षण गर्न आउने व्यक्ति उपत्यका बाहिरी जिल्लालगायत भारतबाट आउने व्यक्ति समेत रहेको जनाए।

परीक्षण गराउन आउनेमा भारतको राजस्थानबाट आएका पनि छन्।

बिहीबार नै ललितपुरको सानेपास्थित स्टार अस्पतालमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भयो। तर तीमध्ये उपत्यका ठेगाना लेखाउने चार जना रहेका छन्। जसमा काठमाडौं र ललितपुरका दुई-दुई जना छन्।

बाँकी दुई जनामा एक जना महोत्तरी र अर्का पर्साका छन्। तर उनीहरू पनि काठमाडौंमै बस्ने व्यक्ति हुन्।

यसरी टेकु अस्पताल र स्टार अस्पतालको सही आँकडा जोड्ने हो भने बिहीबारमात्र उपत्यकामा ६१ जना संक्रमित फेला पारेका छन्। अन्य अस्पतालहरूमा गरिएको परीक्षणमा पनि विवरण गोलमोटल भएको छ। काठमाडौं ठेगाना भएकालाई मात्र उपत्यकाका कोरोना संक्रमित संख्यामा गणना गरिएको छ।

सुरूआतदेखि नै संक्रमितहरूको जानकारी गराउँदा उपत्यका ठेगाना लेख्नेहरूलाई मात्र उपत्यकामा भेटिएका संक्रमित संख्यामा सामावेश गरिँदै आइएको छ। तर बाहिरी जिल्लाबाट आएर यहीँ संक्रमण पुष्टि भएकाहरूलाई उपत्यका भनेर गणना गरिएको छैन।

यसरी गर्दा उपत्यकामा कति संक्रमित भेटिए भन्ने ठीक विवरण आइरहेको छैन। यसरी बाहिरी जिल्लाबाट आएकाहरूलाई परीक्षण गर्दा नै स्थायी र अस्थायी दुबै ठेगाना लेख्न लगाए यो समस्या हल हुनसक्छ।

यसरी गर्दा कुन ठाउँमा संक्रमणको जोखिम कति बढेको छ भन्ने आम मान्छेलाई थाहा पाउन सजिलो हुन्छ। मन्त्रालयका सह-प्रवक्ता डाक्टर समीर अधिकारीले भने, ‘उहाँहरूलाई दुबै ठेगाना भर्न लगाउँछौं तर अहिलेलाई हामीले स्थायी ठेगाना अनुसार नै विवरण दिने गरेका छौं।’

सरकारले समेत पछिल्लो समय उपत्यका प्रवेश गर्ने व्यक्तिहरूमा संक्रमण देखिन थालेपछि नाकामा कडाइ गर्नुका साथै परीक्षणको दायरा पनि बढाएको छ।

स्वास्थ्य मन्त्रालयले उपत्याका प्रवेश गर्ने प्रमुख तीन वटा नाकाबाट १० हजार जनाको परीक्षण गर्ने जनाएको छ। जसमा ८ हजार ५ सय जनाको स्वाब संकलन भइसकेको प्रवक्ता गौतमले जनाए।

‘तीन वटा नाकाबाट दिउँसोसम्म ८ हजार ५ सयको स्वाब संकलन गरिएको छ। अब आजै बाँकी स्वाब पनि संकलन हुन्छ। भोलि त्यसको विवरणबारे जानकारी गराउँछौं,’ उनले भने।

सरकारले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रवेश विन्दुमा कडाइ गरेको छ। विज्ञहरूले समेत उपत्यकामा लकडाउन अन्त्यसँगै जोखिम बढेको औंलाएका छन्।

बेलैमा परीक्षण र अन्य सतर्कतामा ध्यान नदिए स्थिति नियन्त्रण बाहिर जाने उनीहरूले चेतावनी दिएका छन्। लकडाउन अन्त्यसँगै भारतलगायत उपत्यका बाहिरी जिल्लाहरूबाट मानिसहरूको आउने क्रम ह्वात्तै बढेको छ। यसरी आउने व्यक्तिहरूको सरकारले परीक्षण अनिवार्य गरेको छैन।

मन्त्रालयले मापदण्ड जारी गर्दै लक्षण देखिएमात्रै परीक्षण गर्नुपर्ने बताएपछि धेरै मानिस परीक्षणबाट बञ्चित भएका छन्। त्यसरी मापदण्डमा नपरेका व्यक्तिलाई शुल्क तिरेर परीक्षण गर्ने सुविधा रहे पनि सबैले शुल्क धान्न नसक्ने भन्दै धेरैले गुनासो गरेका छन्। मन्त्रालयले मापदण्डमा नपरेका व्यक्तिले ५ हजार ५ सय रुपैयाँ तिरेर परीक्षण गर्न पाउने भनेको छ।

सेताेपाटीबाट साभार