Jagaran Nepal शनिबार, साउन १७, २०७७

काभ्रेपलाञ्चोक । कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रा–पर्व मनाउन दुई दिन बिदा दिएको छ । काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहले भने स्थानीय शक्तिपिठमा जात्रा र मेला नभर्न सार्वजनिक सूचनामार्फत उर्दी नै जारी गरेका छन् । पाँचखाल नगरपालिकाले नजिकिएको जनैपूर्णिमा तथा गाईजात्राको अवसरमा यही साउन १९ र २० गते सार्वजनिक बिदा दिएको हो । ‘कार्यपालिका बैठकले नै जात्रा–मेलाका लागि बिदा दिने निर्णय भएअनुसार सार्वजनिक बिदा दिइएको हो’, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले भने ।

उनले बुधबार सार्वजनिक बिदासम्बन्धी सूचना निकालेर नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शैक्षिक संस्थालाई बिदा दिएकाले स्थानीयवासीलाई उल्लासमय सहभागिता जनाएर जात्रा र पर्व मनाउन आग्रह गरेका छन् । नगरका ऐतिहासिक शक्तिपिठ पलाञ्चोक भगवतीलगायत मन्दिरमा बर्षौँदेखि स्थानीय समुदायले उल्लासपूर्ण तवरले पर्व मनाउने भएकाले यस वर्ष पनि बिदा दिने परम्परालाई निरन्तरता दिएको अधिकृत भण्डारीले बताए ।