Jagaran Nepal शुक्रबार, साउन १६, २०७७

काठमाडाैँ । चीनमा माघ दोश्रो साता निधन भएका एक नेपालीको शव शुक्रबार नेपाल फर्काइएको छ । कोभिड-१९ महामारीका कारण गत जनवरी २३ तारिख वुहानमा लकडाउन गरिएपछि हुबेई प्रान्तको वुहानस्थित इण्डियन मार्का होटलमा काम गर्ने दोलखाका ३८ वर्षीय नेपाली कामदार पुष्कर खड्काको जनवरी १९ तारिख राति आफू बसेकै होटलमा निधन भएको थियो।

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार शव नेपाल फर्काउने क्रममा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको ३९ हजार आरएमबी सहयोग र चीनस्थित नेपाली समुदायबाट संकलित ७३ हजार आरएमबी गरी १ लाख १२ हजार चिनियाँ युआन खर्च लागेको छ।

दूतावासको समन्वयमा वुहानबाट मृतक खड्काको शव १६ सय किलोमिटर टाढा युनान प्रान्तको राजधानी खुनमिङस्थित छाङ्श्वे विमानस्थलमा शव वाहनद्वारा पुर्‍याइएको दूतावासका मिनिस्टर सुशील लम्सालले जानकारी दिए।

अस्पतालले जनाएअनुसार खड्कामा कोरोना भाइरसको संक्रमण थिएन। मृतकका आफन्‍त धनबहादुर कार्कीका अनुसार खड्का एक दशकदेखि चीनमा ‘सेफ’सम्बन्धी काम गर्दै आएका थिए।