Jagaran Nepal शुक्रबार, साउन १६, २०७७

विवाहमा जन्मराशि तथा जन्मलग्नदेखि चौथो लग्न सुखनाशक, १२औं लग्न धननाशक तथा ८औं लग्न मृत्युसूचक हुन्छ । विशिष्ट ग्रहस्थिति भएमा चौथो या १२औं लग्न ग्राह्य हुन सके पनि ८औं लग्न सर्वदा त्याज्य हन्छ । विवाहमा प्रदत्त लग्नबाट गोचरगत ग्रहहरू पनि विचारणीय हुन्छन् । सूर्यादि ग्रहहरू विवाह लग्नदेखि प्रत्येक भावमा रहँदा कस्तो–कस्तो फल प्राप्त हुन्छ त्यसको विशद वर्णन वशिष्ठसंहिता, विवाहपटल आदि ग्रन्थहरूमा पाइन्छ ।

ग्रहहरूको नैसर्गिक स्वभाव तथा मित्रामित्रको साथै कुण्डलीमा भएको स्थिति, दृष्टि आदिका आधारमा हुने योग आदिका कारणबाट अत्यन्त शुभदेखि अत्यन्त अशुभ फलहरू समेत प्राप्त हुनसक्ने कुराहरू वर्णन गरिएका छन् । यी सबै विचार गरेर सप्तमस्थान शुद्ध गरी विवाहोक्त कर्तरीदोष, संग्रहयोगजन्य दोष, विषघटी, वारमा निषिद्ध मुहूर्त, पञ्च–सप्तशलाकावेध, पापांशा, लत्तादोष, पातदोष, क्रान्तिसाम्य दोष, उपग्रहजन्यदोष, कुलिकयोग, दग्धातिथि, जामित्रदोष, एकार्गलदोष, दशयोगजन्य दोष, पञ्चवाणदोष, गुरुशुक्रको उदयास्त, सूर्यसंक्रान्तिदोष, वङ्ग–अन्ध–काणलग्न दोष आदिलाई विचार गरी त्याज्यलाई त्याग गरी ग्राह्य समयमा मात्र विवाह गर्नुपर्दछ । विशेषगरी विवाहमा विहित मासमा विवाहोक्त पञ्चाङ्ग शुद्धिका दिन प्रातःकालीन वा रात्रिकालीन लग्नहरूमा पापग्रहरहितका मिथुन, कन्या, तुला, धनु र मीन अंशमा पाणिग्रहण संस्कार गर्नुपर्दछ । पापग्रहका अंशमा कन्यादान गर्नुहुँदैन । वृषअंश शुक्रसम्बन्धी भए पनि त्यसमा विवाह गर्दा दम्पतीमा कामवासना वृद्धि हुने कुराको उल्लेख पाइने हुनाले वृष अंश त्याज्य हुन्छ भने कर्कट अंश (चन्द्रसम्बन्धी ) पनि त्याज्य हुन्छ । कर्कट अंशमा विवाह गरेमा दाम्पत्य जीवन स्थिर नहुने कुरा देखिन्छ । चन्द्रमा जल तत्वप्रधान र चञ्चल प्रकृतिको भएकाले त्यसको प्रभाव वैवाहिक दम्पतीमा पर्नु स्वाभाविकै हो । मुहूर्त चिन्तामणिमा पनि यसैलाई स्पष्ट्याइएको पाइन्छ ।

कार्मुक तौलिक कन्या युग्मेवे झषगे वा ।

यर्हि भवद्रेदयामस्तर्हि सती खलु कन्या ।। वि.प्र. ८४ ।।

यस्तै ग्राह्य अंश भएपनि अन्त्य नवमांशमा विवाह गर्नुहुँदैन तर वर्गाेत्तम भएमा गर्नु उत्तम हुन्छ । तर चन्द्रमा तुला वा मकर राशिमा भएमा वर्गाेत्तम हुने भएपनि चर लग्नमा चर अंशको योग पार्नु हुँदैन । विवाह लग्नदेखि १२औं भावमा शनि, १०औं भावमा मंगल, तेस्रो भावमा शुक्र तथा लग्नमा चन्द्र र पापग्रह अशुभ हुन्छ । यस्तै लग्नेश शुक्र वा चन्द्र भई छैटौं स्थानमा अथवा चन्द्रमा, लग्नेश, मंगल वा कुनै पनि शुभग्रह अष्टमस्थानमा अथवा कुनै पनि ग्रह सप्तमस्थानमा भएमा विवाह भङ्ग हुन्छ अथवा अशुभ फलदायक हुन्छ । त्यसैगरी ३, ६, ८, ११ स्थानमा सूर्य, शनि , राहु र केतु, ३, ६, ११ मा मंगल, २, ३, ११ मा चन्द्रमा, ७, ८, १२ स्थानरहित अन्य स्थानमा बुध र बृहस्पति, ३, ६, ७, ८, १२ स्थानदेखि भिन्न अन्य स्थानहरूमा शुक्र भएमा विवाह लग्न उत्तम हुन्छ ।

वर्णशंकरको विवाह त सामान्यतया विवाहमा वर्जित मुहूर्तमा सम्पन्न भएमा नै शुभ हुन्छ । गान्धर्वादि विवाहहरू पनि गोधूलि मुहूर्तमा विशेष फलदायक हुन्छन् । गोधूलि मुहूर्त त सामान्य रूपमा सबैलाई प्रशस्त नै मानिन्छ ।

माथि वर्णन गरिएका विषयहरू विवाहका लागि विशेष त्याज्य वा ग्राह्य हुन् । यी बाहेक अन्य सामान्य अवस्थामा त्याज्य मानिएका सम्पूर्ण विषयहरू यसमा पनि त्याज्य हुन्छन् । वास्तवमा यी सबै पक्षहरूलाई विचार गरेर कुशल ज्योतिषीले मुहुर्तशास्त्रमा बताइए अनुसार सूक्ष्म तरिकाले गणना गरी दिएको असल मुहूर्तमा अलिकति पनि फरक नपारी विवाहका सबै पक्ष विचार गरी गरिएको विवाह साँच्चै नै विवाहसंस्कारको उद्देश्य पूरा गर्नमा सफल हुन सक्छ । यसमा द्विविधा छैन ।