Jagaran Nepal शुक्रबार, साउन १६, २०७७

काठमाडौं । काठमाडौंमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता ब्यक्त गरेको छ । सर्वसाधारण आफै सचेत नभए ठूलो दुर्घटना हुन सक्ने भन्दै चेतावनी पनि दिएको छ । काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएको जनाएको छ ।मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएको जानकारी दिएका हुन् । डा गौतमले हिजो (बिहीबार) सिराहामा आम सभा भएको र काठमाडौं उपत्यकामा समेत साना खालका सभाहरु भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएका छन् । यस्ता गतिविधिले ठूलो दुर्घटना हुन सक्ने भन्दै सचेत हुन आग्रह गरेका छन् ।

‘काठमाडौंमा फाटफुट केसहरु भेटिन थालेका छन्,काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ,’ डा गौतमले भने, ‘यसबाट बच्नुपर्ने कुराहरु हामीले हरेक दिन निवेदन गरिरहेका छौं, तर पालना भइरहेको अवस्था छैन, यसले जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउन सक्ने कुरा जानकारी गराउन चाहन्छु ।’

डा गौतमले खुल्ला सिमानामा खुलेआम आवत जावत भएको भन्दै चिन्ता जनाएका छन् । उनले केहीदिन अघि भारतबाट कामदार लिएर ओखलढुंगा पुर्‍याइएका २१ जना कामदारमध्ये १८ जनामा कोरोना पुष्टि भएको पनि जानकारी दिए ।

उनले भारतबाट आएर कोरोना पुष्टि भएका उनीहरुलाई हाल क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन् । डा डौतमले सामूहिक रुपमा बसोबास गर्नेहरुमा कोरोनाको बढी जोखिम देखिएको बताए ।

डा गौतमका अनुसार कोरोनाबाट बच्न मास्क अनिवार्य गरिए पनि मास्क नलगाएका २ लाख जना कारबाहीमा परेको पनि जानकारी दिए । उनले वीरगंजमा मात्र ८ चिकित्स ६ नर्सिङ र पारामेडिक्स सहित २८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिए ।