Jagaran Nepal शुक्रबार, साउन १६, २०७७

काठमाण्डौ – गृह मन्त्रालयले कोभिड–१९ को जोखिम बढेको भन्दै रातिको समयमा उपत्यका प्रवेशमा रोक जगाएको छ । जोखिम बढेकाले दिउँसोको समयमा समेत आजदेखि उपत्यका प्रवेशमा कडाइ गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्ण रोक लगाउन प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मुलुकका विभिन्न जिल्लाबाट उपत्यका आउने यात्रुको प्रवेश नाकामा परीक्षण गर्दा कोभिड–१९ को सङ्क्रमण देखिएकाले कडाइ गर्न निर्देशन दिएको उल्लेख छ । यस्तै काठमाडौँ उपत्यकाबाहेकका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गर्दै मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमनका लागि पास जारी नगर्नसमेत भनेको छ । आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उक्त निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ ।सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता अपनाउन सीएमसीले सरोकारवालालाई आग्रह गरेको हो । यहाँका उद्योग धन्दा, कलकारखाना र सबै कार्यालय सुचारु हुँदा विभिन्न जिल्लाबाट मजदुर आउने क्रम बढेसँगै कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भएको सीएमसीको बुझाइ छ ।

काठमाडौँ, सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)का सल्लाहकार एवं काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यका प्रवेश गर्ने व्यक्तिलाई उच्च निगरानी राख्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरिएको बताउनुभयो । उहाँले उपत्यकामा कोरोना समुदायमा फैलिए भयावह हुने भएकाले भारतबाट आउने नागरिकको अनिवार्य पीसीआर परीक्षण गराएर मात्र प्रवेश गर्न दिनुपर्ने व्यवस्था कार्यान्वयन गराउनुपर्ने बताउनुभयो ।

उपत्यकामा प्रवेश गर्ने व्यक्तिको मोबाइल नम्बर समेतको विवरण प्रत्येक नाकाबाट दैनिक रूपमा जिल्ला प्रशासन र प्रहरीमार्फत अनिवार्य रूपमा उपलब्ध गराउने व्यवस्था गर्नेमा जोड दिइएको छ । बन्दाबन्दी खुलेसँगै उपत्यकामा सवारीसाधन र विभिन्न स्थानमा भीडभाड बढ्दै जान थालेकाले सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र सरसफाइ गर्ने काममा सबैले जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ ।