Jagaran Nepal बिहिबार, साउन १५, २०७७

काठमाडौं । सरकारले भदौ १ बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जानकारी आज सरकारका प्रवक्ता मन्त्री डा. युवराज खतिवडाले दिए ।

मन्त्रालयले विद्यालय भवन तथा परिसमा क्वारेन्टाइन र आइसोलेसनसम्बन्धी कार्यहरु नगर्ने, क्वारेन्टाइन र आइसोलेसनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्डबमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने निर्णय गरेको छ । गएको मन्त्री परिषद्ले गरेको निर्णयको हिजो बुधबार मन्त्रालयले प्रमाणीकरण गरी सो निर्णय गरेको हो ।

विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आगमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्र निकट हुने गरी कोभिड–१९ रोकथाम नियन्त्रणसम्बन्धी संरचना नराख्ने समेत निर्णय गरेको छ । सोमबारको मन्त्रीपरिषद्को निर्णयलाई मन्त्रालयले ७ बुदे निर्देशन समेत जारी गरेको छ ।

विद्यालय निर्मलीकरणको कार्यढाँचा बनाउन शिक्षा मन्त्रालयलाई जिम्मेवारी दिइएको र साउनभर शिक्षकहरुलाई विद्यालय पुगिसक्न निर्देशन दिइएको छ । सरकारले १ भदौबाट लागू गर्ने गरी विद्यालय सञ्चालनको कार्यविधि तयार गरिरहँदा सरकारका प्रवक्ता डा. खतिवडाको पछिल्लो भनाई सार्वजनिक भएको हो । १ भदौबाट विद्यालय भर्ना शुरु गरिएको जानकारी दिइसकिएको छ ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी लकडाउन अगावै ५ भदौबाट सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो समय अनलाइन कक्षा सञ्चालनको कार्यविधि बनाएर काम गरिरहेकोमा १ भदौबाट भर्ना गरेर सञ्चालन गर्न लागेको हो ।