Jagaran Nepal बुधबार, साउन १४, २०७७

काठमाडौं । जीवनमा जे–जति कर्महरु गर्छौं, जस्ता–जस्ता इच्छाहरु, आकांक्षाहरु राख्छौँ । जस्तो सोच हाम्रो मनमा आइरहन्छ । यो सबै जम्मा भएर बस्छ । हाम्रो अवचेतन मनमा जम्मा हुन्छ । केही पनि खेर जाँदैन । अन्तिम समयमा यसको याद आउँछ । जब हामी शरीरबाट बिदा हुन्छौँ, त्योभन्दा अगाडि हामीले गरेका सबै कर्महरु चलचित्र जस्तो आँखाअगाडि घुम्न थाल्छ । जीवनमा जति कर्म गरेको छ । जस्तो प्रकारको भोग भोगेको छ ।

यी सबै कुराहरु अन्तिम अवस्थामा देखिन्छ तर अति नै टाढा । सम्पति मैले जीवनभरि कमाएँ, सम्बन्ध बनाएँ, भोगका सामग्रीहरु जम्मा गरेँ, कस्ता–कस्ता कर्महरु गरेर सुखभोगका सामानहरु जम्मा गरेँ, त्यो जम्मा गरेका वस्तुहरुबाट आफू एकदमै टाढा गएको अनुभव हुन्छ । कहाँ हो कहाँ हो धेरै टाढा । आफूलाई लाग्छ, अब यिनीहरुसँग कहिल्यै सम्बन्ध हँुदैन । त्यति टाढा पुगेँ म, कहाँ हो कहाँ हो अनन्तमा पुगे जस्तो लाग्छ । र, त्यो बेलामा आफूले जीवनभरि गरेका कर्महरुको दृश्य सबै देखिन्छ । कति राम्रा काम गरेँ, कति नराम्रा काम गरेँ, सब देखिन्छ । अरुले बाहिर जतिसुकै प्रशंसा गरुन्, कति असल मानिस थियो, कति राम्रा काम गरेर गयो, आँखामा हाल्दा पनि नबिझाउने मानिस थियो भनेर अरुले जतिसुकै प्रशंसा गरुन्, यहाँ अरुको प्रशंसा काम लाग्दैन ।

यहाँ मूल्यांकन आफूले गर्नुपर्छ । मैले ठीक गरेँ या बेठीक गरेँ, यसको मूल्यांकन गर्ने मानिस म मात्रै हुन्छु । र त्यो बेलामा मबाट गलत मूल्यांकन हँुदैन । सही–सही मूल्यांकन आफँैले गर्छु । त्यतिखेर कोही सहारा हँुदैन । एक्लो, सब कुरा छुट्यो । त्यो बेलामा आफ्ना कर्महरुलाई हेर्दाखेरि पश्चात्ताप हुन्छ । केको लागि मैले नराम्रा काम गरेँ, के पाउनको लागि मैले अरुलाई सताएँ, केको लागि मैले अरुलाई दुःख दिएर सम्पति जम्मा गरे, पश्चात्ताप गर्नुको अलावा हामीसँग केही विकल्प रहँदैन । अरुले राम्रो भनेर के गर्नु, आफ्नो नजरमा नराम्रो होइन्छ । ती सबै राम्रा कर्म गर्नुको पछाडि उद्देश्य के थियो, त्यो उद्देश्य देखिन्छ ।

अरुले हेर्दा राम्रो कर्म गरेको छ । तर आफ्नो नजरमा राम्रो हो कि नराम्रो हो, आफूलाई थाहा छ । किनभने त्यो राम्रो कर्मको पछाडि धेरै ठूलो स्वार्थ लुकेको हुन्छ । त्यो सब कुरा थाहा हुन्छ । त्यतिखेर सबै राम्रा कर्महरु धराशयी हुन्छ । त्यतिखेर पश्चात्ताप मात्रै बाँकी हुन्छ । मैले जीवन त पाएँ तर जीवनलाई कसरी दुरुपयोग गरेँ । यही जीवनमा कति सुख, कति आनन्द भोग्न सक्थेँ, आफू पनि सुखी हुन सक्थेँ र साह्रा दुनियाँलाई सुख दिन सक्ने सामर्थ राख्थेँ, त्यति सामथ्र्य ममा थियो । त्यति शक्ति ममा थियो । के म आफू मात्र होइन, अरु धेरैलाई सुखी बनाउन सक्थेँ । तर आफ्नो जीवनको मैले दुरुपयोग गरेँ । यतिखेर यस्तो पश्चात्ताप हुन्छ ।

अब पश्चात्तापको आगोमा डढ्नुको विकल्प हामीसँग अरु केही हुन्न । यही पश्चात्तापलाई नर्क भनिन्छ । यही हो नर्क, यो महादुःखमा हामी जान्छौँ । त्यसैले शुभकर्म, शुभकर्म भनिएको हो । राम्रो काम गरौँ, आफ्नो पनि हित होस् र अरुको पनि हित होस् । एक दिन सबै कुरा छोडेर जानुपर्छ, सम्मान पनि छोडेर जानुपर्छ, सम्पत्ति पनि छोडेर जानुपर्छ, सम्बन्ध पनि छोडेर जानुपर्छ । स्वास्थ्यको लागि हामी खूब–खूब प्रयास गर्दछौँ । आफ्नो स्वास्थ ठीक राख्नको लागि अरु कतिको स्वास्थ्यलाई बिगार्छौं । यो स्वास्थ्यलाई पनि एकदिन छोडेर जानुपर्छ । यो पनि रहन्न । र, अरुले सम्मान गरेर के गर्ने ? खूब सम्मान कमाइएको थियो, मानिसले खूब सम्मान गरेका थिए । आदर गरेका थिए ।

तर जब आफू यहाँबाट टाढा–टाढा गएको अनुभूति हुन्छ, त्यो बेलामा सबै प्रकारका सम्मानलाई पनि त्यागेर जानुपर्छ । सम्पत्ति पनि त्यागेर जानुपर्छ । सम्बन्ध पनि त्याग्नुपर्छ, स्वास्थ पनि त्याग्नुपर्छ । केही–केही बाँकी रहन्न । एउटै कुरा बाँकी रहन्छ– मैले गरेका कर्महरुको स्मृति । मैले के–के काम गरेँ, त्यसको स्मृतिचाहिँ मसँग रहन्छ र त्यही स्मृति दुई भागमा विभाजित हुन्छ । एउटा शुभभाव– राम्रो कर्म, अर्काे अशुभ भाव– नराम्रो कर्म ।

यही स्मृतिको नराम्रो पक्षलाई हामीले नर्क भन्यौँ र यही स्मृतिको शुभ पक्षलाई हामीले स्वर्ग भन्याँै र यहाँ स्वर्ग, यहाँ नर्क पठाउनको लागि कुनै भावीले पुस्तक पल्टाउँदैन, या कुनै चित्रगुप्तले फैसला गर्दैन । चित्रगुप्त भनेको आँफै हो । चित्रगुप्त आफ्नो अन्तरआत्मा हो । यसले छुट्याउँछ । यहाँ पक्षपात हँुदैन, जब हामी मृत्युको घडीमा जान्छौँ र आफूले गरेका कर्महरुलाई हेर्छौँ, सच् अनुभव गर्दछौँ । यो बेलामा हामी साँचो न्यायाधीश बन्छौँ । कुनै प्रकारको पक्षपात हँुदैन । ठीक–ठीक न्याय हुन्छ ।

गलत कर्म गरेको छ गलत स्मृति, यसले हामीलाई दुःख दिन्छ । राम्रो कर्म गरेको छ राम्रो स्मृति, यसले हामीलाई सुखतिर लिएर जान्छ । कमाइ यति मात्र हो । मेरो साथमा जाने कमाइ भनेको मेरो स्मृति मात्रै हो । योचाहिँ बीज रुपमा रही नै रहन्छ र हामीलाई जहिले पनि यसले प्रभाव छोडी नै रहन्छ । मृत्युपछाडि पनि यसको प्रभाव कम हुँदैन । आफ्ना कर्मको प्रभाव निरन्तर जारी रहन्छ र मृत्युपछि अर्काे जन्म लिँदाखेरि पनि यो प्रभाव यथावत् रहन्छ । पूर्वजन्मको प्रभावलाई नै हामी आफ्नो भाग्य भन्छौँ ।

जति कर्म भोग्न बाँकी रह्यो, राम्रो कर्म गरेको फल या नराम्रो कर्म गरेको फल, यसलाई हामी अर्को जन्म लिएर पनि भोग्छौं र भोग्नैपर्छ । किनभने कुनै पनि बीउ रोपेपछि फल त दिन्छ । कुनै पनि कर्म गरेपछि त्यसको परिणाम त हामीले व्यहोर्नैपर्छ । भोग्नैपर्छ । त्यसकारण शुभकर्म एउटा, अर्को पक्ष अति नै महत्वपूर्ण छ, जब यो शरीरलाई छोडेर टाढा–टाढा हामी गहिराइमा गएको अनुभूत गर्छाैं, मृत्युपछाडि शरीर छोडेपछि हैन, शरीर छुट्ने बेलामा श्वास छँदै, हामी धेरै–धेरै टाढा पुगेको अनुभव गर्छौं ।

कसैले बोल्यो भने पनि कहाँ हो कहाँ हो टाढा बोलेको जस्तो, कुनै दृश्य देखियो भने पनि धेरै टाढाको दृश्य देखेको जस्तो, आफ्ना आँखाअगाडि आएर कसैले अनुहार देखायो, तर त्यो अनुहार टाढा–टाढा कहाँ हो कहाँ हो, धमिलो, हो कि हैन, चिनिन्छ कि चिनिँदैन जस्तो, चिन्न कठिन हुने, त्यति टाढा लाग्छ र उसले बोलेका शब्दहरु, ध्वनि पनि धेरै टाढा हजारौं मिल टाढा कोही बोल्यो र त्यसको आवाज आएको जस्तो त्यति टाढा हामी पुग्छौंं ।

मृत्युको घडीमा शरीर छोडेको छैन । छोड्ने अन्तिम क्षणमा यो अवस्थामा हामी पुग्छौं । र त्यतिखेर कोही सहारा हुँदैन । सबै सहाराहरु छुट्छन्, यदि हामीलाई परमात्मा ज्ञान छ, त्यो ईश्वलाई चिनेका छौं, जसले जिउँदो हुँदै भगवान्सँग सम्बन्ध बनायो, जसले त्यो ॐकार स्वरुप परमात्मालाई जान्यो, त्यो जान्ने ज्ञानी व्यक्ति त्यो क्षणमा पनि परमात्मामा स्थिर रहन्छ ।

र, कर्मफल त आउँछ । एकातिर राम्रा कर्महरु, अर्कातिर नराम्रा कर्महरु, दुवै कर्मफल देखिन्छन् । जीवनमा गरेका सबै राम्रा नराम्रा घटनाहरु चलचित्र जस्तो साह्रा देखिन्छ । तर, त्यसको बीचमा ॐकारको साथमा एकाकार भएको हुन्छ, त्यसमा रमाएको हुन्छ, र जहाँ यो ध्वनि छ, जहाँ ॐकारस्वरुप परमात्मा छ, त्यहाँ कुनै पनि प्रकारका कर्मका स्मृतिहरुले त्यसलाई असर गर्न सक्दैनन् । उसको नजिक जानै सक्दैनन् ।

दुवै प्रकारका कर्मबाट मुक्त रहन्छ त्यो मानिस, जसले ॐकारलाई जान्यो । पाप र धर्म दुवैबाट मुक्त हुन्छ । न शुभ कर्म बाँकी रहन्छ, न अशुभ कर्म बाँकी रहन्छ । भगवान् भन्नुहुन्छ, ‘मेरो शरणमा आइज, ॐकारमा आइज, तेरा पाप र धर्म दुवैलाई यसरी जलाइदिन्छु, जसरी आगोले सुकेका पत्करहरु जलाइदिन्छ ।’ न तँसँग धर्म बाँकी रहन्छ न पाप, तँलाई शुद्ध, निर्मल, पवित्र बनाएर आफूमा लीन गर्छु । भगवान्ले यति महत्वपूर्ण रहस्य हामीलाई बताउनुभएको छ । र, यदि त्यो ॐकारको शरणमा हामी जान सक्यौँ, त्यसको स्मृति, त्यसको याद, त्यसको सुमिरण अन्तिम अवस्थामा– यो प्रियतमले हामीलाई छोड्दैन र यो साथमा रहन्छ । र, यो साथमा रहेपछि केको समस्या ?

यो सारा समस्याको समाधान हो । अब हामी सबै प्रकारका पाप, धर्महरुबाट मुक्त हुन्छौं । यो प्रणव, यो ॐकार, यो बीज ब्रह्म परमात्मा, जसलाई हामी अहिल्यै जान्न सक्छौं, हामी भोग्न सक्छौं । हामी यो ईश्वरलाई हेर्न सक्छौं । सुन्न सक्छौं, छुन सक्छौं । यसको सुगन्ध लिन सक्छौं । यसको स्वाद लिन सक्छौं । हामी सबैलाई पनि यो परमात्मा तत्वसँग एकाकार हुने अवसर मिलोस् ।

(जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन बिकास विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट उतारिएको सामग्री)