Jagaran Nepal बुधबार, साउन १४, २०७७

भगवान शिवजीलाई खोज्न भनेर इन्द्रसहित सब देवता अकाशमार्ग हुंदै स्वर्गलोक पनि घुमे तर कतै पत्ता पाउन सकेनन् । यसरी अनेक लोक घुम्दा पनि भोलेनाथको दर्शन नपाएपछि उनीहरुले अव एकपटक पृथ्वीलोकमा गएर खोजौं भन्ने अठोट गरे । अनेक वन, उपवन आदिमा खोजे तर पनि दर्शन पाएनन् । पृथ्वीमा उनीहरुले राखेको पैतालाले गर्दा घांस नै मडारिएर जमीन देखियो, तैपनी पाएनन् ।

आखिरमा केही नलागेर उनीहरु ब्रम्हाजीको शरणमा गए । व्रम्हाजीले एकाग्र मनले ध्यान गर्नुभयो अनि सबैलाई श्लेशमान्तक बनमा नखोजिएकोले त्यहां जाऊं भनेर आकाशमार्ग हुंदै त्यहां पुग्नुभयो । त्यो सुन्दर वनमा अनेक गुफा, कन्दराहरु थिए । तपस्वीहरु तपस्यामा तल्लिन भएका थिए । स्वच्छ जल भएको नदी बगेको थियो । देवताहरुले रथ र सारथीहरुलाई छोडेर पैदल नै त्यस बनमा पसे । खोज्न थाले, तर कतैपनि भोलेनाथको दर्शन पाएनन् ।

खोज्दा खोज्दै उनीहरुले एक सुन्दर कन्याको दर्शन पाए । कन्याको दर्शनका बारेमा सबैले ब्रम्हाजीलाई जिज्ञाशा राखे । व्रम्हाजीले पनि ध्यान दृष्टिले हेर्नु भयो र हिमालयकी पुत्रीले यीनै कन्याको रुपमा दर्शन दिएकी हुन् भन्ने निश्चय गर्नुभयो । सबै देवताहरु पहाडको टाकुरामा चढेर तलतिर हेर्न थाले । उनीहरुले अकस्मात मृगको झुण्ड देखे । त्यसै झुण्डको बीचमा मृगको रुपमा भगवान् शंकरको दर्शन पाए । त्यो मृगको एउटा सिङ र एउटा खुट्टा तथा अति चमकिलो थियो । सबै मिलेर मृगको सिङमा समाते तर मृग भाग्न खोज्दा सिङको टुप्पो इन्द्रको हातमा, बीचको भाग ब्रम्हाजीको हातमा र जरा भगवान् नारायणको हातमा पर्न गयो । यसरी तीनै जनाले समाउनाले सिङ तीन भागको भयो । मृग आकाशमा अलप भयो ।

भालेनाथ शिवजीले आकाशबाटै देवताहरुलाई हप्काएर भन्नुभयो, “हे देवताहरु, मैले तपाईहरुलाई ठगें । अव मलाई देख्न सक्नुहुन्न । तपाईहरुसंग आ आफ्नो भागमा परेको सिङले नै चित्त बुझाउनुस् । यो श्लेषमान्तक बन हो, मेरो विधिपूर्वक स्थापना यहीं गर्नु, यो बन पुण्य क्षेत्र हुनेछ, पृथ्वीलोकमा भएका सबै तीर्थ, समुद्र तथा नदीहरु सबै यहीं आउनेछन् । पर्वतका राजा हिमालय पनि यहीं छन् । यो नेपाल देश कहिन्छ, म यहां स्वयम्भू रुपमा प्रकट हुनेछु, मेरो चार मुख हुनेछ, मेरो शीर प्रचण्ड तेजले प्रकाशित हुनेछ र म त्यहां तीस हजार वर्ष बस्नेछु । जो व्यक्ति वाग्मती नदीमा स्नान गरेर बासुकीनाथ दर्शन पनि मलाई जल चढाउंछ भने उसलाई शाश्वत शान्ति मिल्दछ । मलाई शरीरेश (शरीर सहितको ईश्वर) भनिनेछ, यसमा कुनै शंका छैन । त्यो ठाउंमा अतिवृष्टि, अनावृष्टि लगायत मुसाको दुःखआदि उपद्रवहरुले सताउने छैनन्” भन्दै श्री पशुपतिनाथ, नेपालको महात्म्य बताउंदै देवताहरुलाई आश्वस्त पार्नुभयो ।

“यो श्लेषमान्तक बन परम पुण्य क्षेत्र हो । यहां हरदम तपस्वी, देवता आदिको वास रहन्छ । मैले मृगको रुप लिएर जहां जहां बसें, जहां जहां पाउ राखें, त्यो सब पुण्यक्षेत्र हुनेछ, जुन क्षेत्रलाई पुथ्वीमा गोकर्णेश्वरको नामले पुकारिनेछ” भन्ने आकाशवाणी देवताहरुले सुने, शिवजीको दर्शन पाउन सकेनन् र आ आफ्नो स्थानतर्फ लागे । (क्रमशः……)

यो पनि पढ्नुस् : नन्दीश्वर (१):ब्रम्हाजी र सनतकुमारका बीचमा कुरा चल्दै थियो । सनतकुमारका जिज्ञाशालाई ब्रम्हाजीले पूरा गरिरहनु भएको थियो । एकदिन उनले उत्तर गोकर्ण र दक्षिण गोकर्णका तथा श्रृंगेश्वर शिवलिंगलाई पवित्र मानिएको किन होला भन्ने प्रश्न गरेका थिए । उनको प्रश्नको उत्तरमा ब्रम्हाजीले यस प्रकारले बताउनुभएको थियो ।

मन्दराचल पर्वतको उत्तरभागमा कैलाश पर्वतको नजिक मुञ्जवान नामगरेको एउटा पर्वत शिखर रहेको छ । त्यो पर्वतमा अनेक प्रकारका पत्थर, पुष्प आदिले अति नै शोभा दिईरहेका थिए । त्यो ठाउं तपस्थलीको रुपमा पनि प्रख्यात थियो । त्रेतायुगमा नन्दी नाम गरेका एक ऋषि त्यहां आएर भगवान् शिवको तपस्यामा तल्लिन भएका थिए । उनी गर्मीको दिनमा पञ्चाग्नी तथा जाडोमा पानीमा उभिएर तपस्या गर्दथे । उनको तपस्याले शिवजी प्रसन्न भएर “तिमीले मेरो आराधना राम्रो संग गर्‍यौ अव मेरो रुप हेर” भनेर दिव्य नेत्र दिनुभयो । शिवजीको तेजको दर्शन पाएर उनले गदगद भएर शिवजीको स्तुति गरे । स्तुति सुनिसकेपछि शिवजीले आफूलाई जे चाहिन्छ त्यही मांग भन्नुभयो । उनले आफूलाई कुनै पनि प्रकारको सिद्धि, ऐश्वर्य न चाहिने तर भक्ति मात्र पाउं भनेर बिन्ती गरे । उनले आफू शिव बाहेक अरुको आराधना नगर्ने र दिन रात हजुरको जप, आराधना गरेर बस्न सक्ने क्षमता पाउं भने ।

नन्दीको यस्तो प्रकारको अनुरोध सुनेपछि शिवजीले भन्नुभयो, “तिमीले मलाई प्राप्तगर्न एक हजार वर्षसम्म तीन करोड जप गर्‍यौ जुन, आश्चर्यजनक छ। आज सम्म यस प्रकारको तपस्या कसैले गरेको थिएन । तीनै लोकका चर अचर प्राणीहरु क्षुब्ध भएकाछन् । तिमीलाई भेटगर्न भनेर इन्द्रसहित सबै देवता यहां आउने बालाछन् । तिमीमा म बरावर अलौकिक शक्ति आएको छ , तिम्रो तीन नेत्र हुनेछ र तिमीमा सबै गुण व्याप्त हुनेछन्, तिमीलाई सबैले नन्दीश्वर भन्नेछन् । देवकार्यमा सबभन्दा पहिले तिम्रो पूजा हुनेछ । अव तिमी मेरो गण बन, मेरो व्दारपाल पदमा तिमी बस , तिमी खुशी भयौ भने म खुशी हुन्छु, तिमी रिसायौ भने म पनि रिसाउंछु । यसप्रकारले शिवजीले उनलाई वर दिनुभएपछि जाने बेलामा भन्नुभयो, “तिमीलाई भेटगर्न ईन्द्र सहित सब देवता यहां आउनेछन् । उनीहरु आउनु अघि नै म यहांबाट जानुपर्छ भन्दै अन्तर्धान हुनुभयो ।

नन्दीश्वर (२)नन्दीको शरीर दिव्य हुनगयो । उनी चार भुजा र त्रिनेत्र का भए । नभन्दै आकाशमा विचरण गरिरकेका देवता हरु इन्द्रकहां गए । उनीहरु लाई नन्दीले इन्द्रलोक हडप गर्छन् भन्ने परेको थियो । ब्रम्हाजी सहित सबै देवताहरु आएको नन्दीले थाहा पाए । उनी गदगद भए र भने, “मलाई हजूरहरु आउनु हुन्छ भनेर भोलेनाथ शिवले आज्ञाभएको थियो” आदि भन्दै देवताहरुको उपस्थितिमा खुशी जनाए । उनले यति भनेपछि देवताहरुले पनि आफूहरु श्रीशिवको दर्शन गर्नुपरेकोले स्थान बताईदिन आग्रह गरे ।

नन्दीले पनि सबै बृत्तान्त बताएर श्रीशिव त्यहीं नै अन्तध्र्यान हुनुभएको र उहांको शिवको कहां वास छ आफूले पनि थाहा नपाएकोले कुरा बताए । नतकुमारले ब्रम्हाजीलाई शिवजीले नन्दीलाई कस्तो ज्ञान दिनुभएको थियो र उनले किन शिवजीको वासस्थान बताउन नचाहेको भन्ने प्रश्न गरे । ब्रम्हाजीले उनीहरुलाई भन्नुभयो, “देवताहरुको अगाडि मैले पनि सबै कुरा बताउनु भएन । तर पनि म केही बताउंछु भनेर बताउन थाल्नुभयो । उहांका अनुसार हिमालयको पारी संकटगिरी नामले प्रख्यात एउटा तपस्थल छ । त्यहां श्लेषमान्तक नामगरेको सांपले तपस्या गरेर बसेका थिए ।

उनले शिवजीको तपस्यामा तल्लिन भएकाले उहांले उसलाई आफ्नो दर्शन गराउनुभएको थियो । त्यसै वनमा श्रीशिव मृग रुपमा बस्नुभएको वेलामा देवताहरुले देखे । मृगरुप धारी शिवलाई उनीहरुले समाउन खोजे तर शिवजी अलप हुनुभयो । श्लेषमान्तक नागले तपस्या गरेकोले त्यस बनको नाम श्लेषमान्तक वन रहन गयो । वासुकी नाग लगायत अनेक नदी, तीर्थ स्त्री पुरुषको रुप लिएर त्यहां दर्शन गर्न आए । नन्दी पनि त्यहां आइपुगे । इन्द्रले नन्दीलाई भगवान शिव कहां बस्नुभएको छ हामी पनि दर्शन गरौं भने तर नन्दीले पनि बताउन सकेनन् र आफूले पनि उहांको यही वनमा दर्शन पाएकोले सबै मिलेर यहां नै खोजौं भनेर सल्लाह गरे अनि खोज्न थाले ।