Jagaran Nepal मंगलबार, साउन १३, २०७७

एजेन्सी । अफ्रिकी मुलुक तान्जानियाको एक सामान्य खानीमा खन्ने कार्य गर्ने व्यक्तिको जीवनमा एक्कासी परिवर्तन आएको छ । उनको मात्र नभई मुलुककै लागि यो ठूलो उपलब्ध बनेको छ । सैनीनियु लाइजर नाम गरेका व्यक्तिलाई दुई ठूलो कच्चा तान्जानाइट पत्थर भेटिएको छ । यसको तौल करीब १५ किलो रहेको छ ।

यस्तो मूल्यवान पत्थर पृथ्वीबाट भेटिने एक दुर्लभ पत्थर हो । यस खोजबाट उनलाई ३४ लाख डलर अर्थात् ४० करोड ६० लाख रुपैयाँ बराबरको रकम प्राप्त भएको छ । तान्जानियाको खानी मन्त्रालयले उनलाई यति ठूलो रकम प्रदान गरेको हो ।

उनले आफूले ठूलो पार्टी दिने जनाएका छन् । उनी ३० बच्चाहरूको बाबु पनि हुन् । उत्तरी तान्जानियामा मात्र पाइने यो तान्जानाइट गरगहनामा प्रयोग गरिन्छ । यो दुर्लभ रत्न मध्ये एक हो । एक भूगर्भविद्का अनुसार आगामी २० वर्षमा यो लोप हुने बताएका छन् ।