Jagaran Nepal सोमबार, साउन १२, २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमणको दर बढिरहेका बेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो ।

मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न भनिएको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताए । पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै यो परिपत्र जारी गरिएको अधिकारीको भनाइ छ ।

साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने छ । मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दैनिक १८ हजार जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत नेपालमा हाल दैनिक १८ हजार १६० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने क्षमता प्रयोगशालाहरुको रहेको बताएका हुन् ।

हाल नेपालमा दैनिक कोरोना परीक्षणको अघिकतम रेकर्ड भने ६ हजार ३ सय ६० मात्र रहेको डा गौतमको भनाइ छ । डा गौतमका अनुसार पीसीआर मेसिनमा ११ वटा एक्ट्रयाक्सन मेसिन जडान भएपछि दैनिक ८ हजार ८ सय परीक्षण गर्ने क्षमता थप हुने र नयाँ सरकारी तथा निजी प्रयोगशालाहरुमा पनि ३ हजार व्यक्तिको दैनिक परीक्षण गर्ने क्षमता रहेको डा गौतमले बताए । डा गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले छिट्टै दैनिक १८ हजार १६० जनाको पीसीआर परीक्षण गर्न सक्ने जानकारी पनि दिए ।

यस्तै काठमाडौंको बाफलमा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको उपचारमा सरकारले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले घाइते युवतीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिएपछि यस्तो उपचार खर्चको व्यहोर्ने आश्वासन दिएका हुन् ।

कीर्तिपुर अस्पतालमा पुगेर मन्त्री ढकालले भने ‘तपाईंको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ । घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।’

सो अवसरमा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिएका थिए । मन्त्री ढकाललाई ओखलढुंगाबाट निर्वाचित सांसद यज्ञराज सुनुवारले उपचारको जिम्मा सरकारले लिएकोमा धन्यवाद दिए । उनले बिभिन्न व्यक्ति र समूहले पनि आर्थिक संकलन गरेर उपचारमा सघाएको बताए ।

स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो । प्रहरी कल डिटेल र सिसी क्यामराको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पीडित युवतीको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र बस्नेतले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको र घाउ पहिलेभन्दा निको भएको बताए । तेजाब प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणको जोखिम कायमै रहेको बताएका छन् । मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत डा गौतमले नेपालमा कोरोना संक्रमणको जोखिम कायमै रहेको बताएका हुन् ।

मानिसको अनुहार हेरेर कोरोना संक्रमित छुट्याउन नसकिने भन्दै कोरोनाबाट बच्न सचेत रहनुपर्ने डा गौतमले बताए । “हाम्रो देशमा दिनहुँ कोरोना संक्रमित केसहरु आइरहेका छन्, अहिले पनि कोरोना संक्रमणको जोखिम यथावत नै रहेको छ,” डा गौतमले भने, “अनुहार हेरेर कसलाई कोरोना छ वा छैन भन्न सकिदैन, कतिपय संक्रमितहरुमा त लक्षण पनि देखिदैन त्यसैले हामी सबैले सावधानी अपनाउन जरुरी छ ।”

डा गौतमले नेपालीहरु हवाई तथा स्थल मार्ग हुँदै स्वदेश फर्किरहेकाहरुलाई सरकारी वा होम क्वारेन्टिनमा १४ दिन अनिवार्य बस्न पनि आग्रह गरेका छन् । उनले क्वारेन्टिन सेन्टरमा बस्दा घर परिवारले सहयोग गर्नुपर्ने पनि बताए ।

उनले घरमै क्वारेन्टिनमा बस्दा सकेसम्म छुट्टै कोठामा बस्ने, यदि सम्भव नभएमा अरु व्यक्तिसँग कम्तिमा २ मिटर टाढा बस्ने, स्वास्थ्य उपचारका लागि बाहेक अन्य समयमा घर बाहिर ननिस्कन पनि उनले आग्रह गरेका छन् ।

डा गौतमले स्वास्थ्यसंस्था जानुपर्दा सार्वजनिक यातायात प्रयोग नगर्न पनि आग्रह गरेका छन् । क्वारेन्टिनमा रहेका व्यक्ति अस्पतालमा जानुपर्ने भएमा अनिवार्य मास्कको प्रयोग गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिनुका साथै अन्य सामाग्रीहरु पनि अन्य व्यक्तिसँग साट्न नहुने र क्वारेन्टिनमा बसेको व्यक्तिले आफूले प्रयोग गरेका सामग्री आफैले धुनुपर्ने पनि बताए ।

क्वारेन्टिमा बसेको व्यक्तिले नाक मुख, आँखामा हात लान नहुने र समय समयमा साबुन पानी वा स्यानिटाइजरले हात सफा गर्नुपर्ने पनि बताए । यस्तै खोक्दा तथा हाच्छिउ गर्दा कुइना वा टिस्यू पेपरको प्रयोग गर्न पनि डा गौतमले सुझाव दिए । उनले क्वारेन्टिनमा बसेका व्यक्तिले सम्भव भएसम्म छुट्टै शौचालयको प्रयोग गर्ने, यदि सम्भव नभएमा शौच गरिसकेपछि सफा गर्नुपर्ने पनि बताए ।