Jagaran Nepal आइतबार, साउन ११, २०७७

काठमाडौं । भोलि अर्थात् सोमबार रातिदेखि कम्तीमा चार दिन फेरि ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार रातिदेखि न्यून चापीय रेखा नेपाल नजिकै रहने तथा अरब सागबारट जलवाष्पयुक्त हावा पनि प्रशस्त्र मात्रामा भित्रिने भएकाले देशका धेरैजसो स्थानमा झरी पर्ने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको हो ।

‘साउन १२ गते सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने तथा अरब‍ सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकोले आउँदो सोमबार अर्थात साउन १२ गते रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

अघिल्लो हप्ता पनि देशभर लगातार झरी तथा भारी वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भएको थियो । तर, न्यून चापीय रेखा नेपालबाट केही टाढा दक्षिण सरेपछि केही दिनयता वर्षा केही कम भएको थियो । तर, सोमबार रातिदेखि त्यो रेखा पुनः नेपाल नजिक रहने भएकाले वर्षा बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका हुन् । अझ यसपटक अरब सागरबाट जलवाष्पयुक्त हावासमेत प्रशस्त मात्रामा भित्रिने भएकाले वर्षा निकै हुने अनुमान गर्न सकिन्छ ।