Jagaran Nepal आइतबार, साउन ११, २०७७

बीबीसी । बेलायतका वैज्ञानिकले कोरोना भाइरसविरुद्धका खोपले यसको संक्रमणबाट अति ग्रस्त वृद्ध उमेरका व्यक्तिलाई सम्भवतः काम गर्न नसक्ने बताएका छन् । ब्रिटिस इम्युनोलोजी सोसाइटीका अध्यक्ष तथा युसीएलमा इम्युनोलोजीका प्राध्यापक अर्ने अकबरले यस विषयमा आफ्नो राय दिएका हुन् ।

उनले भनेका छन्, ‘एउटा कुरा के स्पष्ट छ भने स्वस्थ वेद्ध व्यक्तिको शरीरमा पनि सामान्यतः इन्फ्लेमेसन बढी हुन्छ । हामीले के बुझ्न जरुरी छ भने इन्फ्लेमेसन कहाँबाट आउँछ र यो कमजोरीसहित अन्य थुप्रै लक्षणका रूपमा किन देखापर्छ, जब जब मानिस बूढो हुँदै जान्छ । जब तपाईं कोरोना भाइरसबाट संक्रमित बन्नुहुन्छ, तब यो इन्फ्लेमेसन निकै बढ्ने गर्छ । यस्तोमा वैज्ञानिकले इन्फ्लेमेसन आखिर कहाँबाट आउँछ भनेर पत्ता लगाउनुपर्छ । यो एउटा यस्तो कुरा हो जस बारे हामीले आफ्नो अवधारण विकास गर्नुपर्नेछ ।’

इन्फ्लेमेसन भनेको त्यो प्रक्रिया हो, जब शरीर कुनै संक्रमण वा समस्यासँग लड्न बढी संघर्ष गर्छ । अबकरको भनाइ उद्धृत गर्दै बेलायती पत्रिका द गार्डियनले लेखेको छ, ‘वृद्ध व्यक्तिलाई खोपका साथै इन्फ्लेमेसन रोक्ने अन्य अन्य औषधि पनि दिनुपर्नेछ, जस्तै: स्टेरोइड औषधि डेक्सामेथासोन, जसले भाइरसका कारण पैदा भइरहेको इन्फ्लेमेसन रोक्न सकोस् । यसको मद्दतले कोभिड–१९ द्वारा संक्रमितको ज्यान बचाउन मद्दत पाइएको छ ।’

खोपका साथ डेक्सामेथासोन दिइएको खण्डमा भने वृद्ध उमेरका व्यक्तिमा पनि खोप प्रभावकारी हुन सक्छ । उनले भनेका छन्, ‘खोपले युवालाई बढी फाइदा पुर्याउँछ र यसले जब युवा भाइरसबाट संक्रमित हुँदैनन् तब उनीहरूले आफ्ना घरका वृद्ध उमेरका अभिभावकलाई संक्रमण फैलाउन पाउँदैनन् । तर खोपले त्यस्ता व्यक्तिलाई सिधै सुरक्षा गर्न सक्ने देखिँदैन, जो गम्भीर परिस्थितीसँग जुधिरहेका छन् ।’