Jagaran Nepal आइतबार, साउन ११, २०७७

आजभोलि हरियो मकैको सिजन हो । स्वास्थ्यका लागि मकै अत्यन्त लाभदायक मानिन्छ ।किनकी मकैमा धेरैथरी मिनरल पाइन्छन्, जसले शरीरलाई पौष्टिक आहार दिन्छन् । मकै अधिकांशले रुचाउने खाजामा पर्छ ।

यो स्वादिष्ट मात्रै नभएर स्वास्थ्यका लागि समेत लाभदायक छ । मकैलाई भुटेर, उसिनेर, पोलेर र भातको रूपमा सँगै विभिन्न परिकार बनाएर खान सकिन्छ । बेमौसमी मकै प्रायः सधैंभरी उपलब्ध हुन्छ ।

अब जानौँ मकै खाँदा के–के फाइदा हुन्छ ?

आँखाः आँखा स्वस्थ राख्नका लागि मकै अवश्य खानुस् । यसमा बीटा क्यारोटिन र भिटामिन ए प्रचूर मात्रामा हुन्छ र यसले आँखाका समस्या हटाइदिन्छ । कोलेस्ट्रोलः मकैमा भिटामिन सी, केरोटेनाइड र फाइबर हुन्छ र यसले शरीरमा कोलेस्ट्रोल कम गरेर रक्तकोशिकालाई सफा बनाउँछ । अनि मुटुले राम्ररी काम गर्न पाउँछ ।

रक्ताल्पताः शरीरमा रगतको कमी हटाउनका लागि मकै लाभदायक हुन्छ किनकि यसमा भरपूर आइरन हुन्छ । क्यान्सरः मकैमा भएको एन्टीअक्सीडेन्ट र फ्लेवेनाइड गुणका कारण क्यान्सर जस्तो गम्भीर रोगको खतरा पनि हुन पाउँदैन । मकैमा भएको फेरुलिक एसिडले स्तन क्यान्सर लाग्नबाट बचाउँछ ।
राम्रो छालाः छालालाई निखार्नका लागि मानिस अनेकथरी सौन्दर्य प्रसाधन प्रयोग गर्छन् तर मकै खाने गर्नुभयो भने छाला चम्किन्छ । यसमा भएको भिटामिन ए र सीले चाउरी पर्न पनि दिँदैन ।

तौल घटाउनः मकैमा प्रशस्त कार्बोहाइड्रेट हुनाले शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यही ऊर्जाका कारण अरू खानेकुरातिर मन डुल्दैन र तौल कम हुन्छ ।
कब्जियतः कब्जियतको समस्या छ भने उमालेको मकै खानुस् । यसमा भएको फाइबरले पेट सफा गरेर कब्जियत हटाइदिन्छ ।
बलियो हड्डीः मकैमा उपलब्ध जिंक, फोस्फोरस, म्याग्नेसियम र फलामले हाड बलियो बनाउँछ । बाथ वा जोर्नीका समस्या भएका मानिसले मकै अवश्य खानुपर्छ ।