Jagaran Nepal आइतबार, साउन ११, २०७७

काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम ‘हु वान्टस् टु बि अ मिलिनियर’ का प्रस्तोता रेगिस फिल्बिनको ८८ बर्षको उमेरमा निधन भएको छ।

उनको न्यूयोर्क स्थित घरमै निधन भएको हो। उनले आफ्नो क्विज शो ‘हू वान्ट्स टु बि अ मिलियनियर; बाट विश्वव्यापी ख्याति कमाएका थिए। उनले सबैभन्दा बढि टेलिजिभन कार्यक्रम सञ्चालन गर्नेमा रेकर्ड समेत बनाएका थिए।

टेलिभिजनमा क्विज कार्यक्रम होस्ट गर्नु अघि उनी अमेरिकी सेनामा सेवारत थिए।

उनको यहि कार्यक्रम ‘हू वान्ट्स टु बि अ मिलियनियर’बाट प्रेरित भएर भारतमा अभिनेता अमिताभ बच्चनले ‘कौन बनेगा करोड़पति’ र नेपालमा राजेश हमालले ‘को बन्छ करोडपति’ कार्यक्रम सञ्चालन गरेका थिए।

फिल्बिनको परिवारले उनको मृत्युको पुष्टि गरेको छ। परिवारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी फिल्बिनको बिदाइको कारण अत्यन्तै दु:खी छौं। फिल्बिन आफ्नो ८९ औं जन्मदिनको केहि दिन अघि सँधैका लागि छाडेर जानुभयो। उहाँको प्राकृतिक कारणले निधन भएको होे।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिबिनको निधनप्रति दुःख व्यक्त गरेका छन्। ट्रम्पले ट्वीटमा लेखेका छन, ‘रेगिस फिल्बिन टेलिभिजन इतिहासकै एक महान व्यक्तित्व हुनुहुन्थ्यो। एक राम्रा व्यक्ति र मेरा साथी पनि। उहाँले मलाई जहिले पनि राष्ट्रपति पदको चुनावमा भाग लिन आग्रह गर्नुहुन्थ्यो। उहाँसँग सबै भन्दा धेरै प्रत्यक्ष टेलिभिजन कार्यक्रम चलाएको रेकर्ड थियो। उहाँले धेरै राम्रो काम पनि गर्नुभयो। रेगिस हामी तपाइँलाई सँधै प्रेम गर्दछौं।’