Jagaran Nepal शनिबार, साउन १०, २०७७

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ४ कार्यकारी आदेशहरुमा हस्ताक्षर गरेका छन् । यी आदेश औषधिको मूल्य घटाउनेसँग सम्बन्धित छन् । अमेरिकामा अब डाक्टरले लेखेको प्रस्क्रिप्सनमार्फत औषधि किन्दा कम मूल्य तिर्नु पर्नेछ । निर्वाचनको मुखमा कोरोनाभाइरस नियन्त्रणमा असफल भएको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना बढिरहेका बेला चुनाव प्रभावित पार्ने उद्देश्यले ट्रम्यले यो आदेश ल्याएको हुन सक्ने मानिएको छ ।

यीमध्येको एक आदेशले क्यानडा जस्ता देशबाट सस्ता औषधि कानुनी रुपमा आयात गर्न अनुमति दिने ट्रम्पले बताएका छन् । अर्को आदेशले औषधि कम्पनीहरुको तर्फबाट बिरामीलाई औषधिमा छुट प्रदान गर्छ ।

अर्को एक आदेश इन्सुलिनको लागत कम गर्ने विषयमा छ भने चौथो आदेश यस्तो छ जुन औषधि कम्पनीहरुसँग छलफल सफल भएमा लागू गर्न आवश्यक पर्दैन । ट्रम्पले औषधि कम्पनीहरुलाई छलफलको लागि आह्वान पनि गरेका छन् ताकि कसरी औषधिको मुल्य कम गर्न सकिन्छ भन्ने विषयमा चर्चा हुन सकोस् ।