Jagaran Nepal शनिबार, साउन १०, २०७७

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसमको पूर्वानुमान जारी गरेको छ । मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको हो । आज दिउँसो पनि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको तथा पूर्वी भू–भागमा नेपाल नजिक रहेकाले दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

देशभरका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । आइतबार र सोमबार पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै गोरखाको धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा पहिरो जाँदा नौली खोला थुनिएको छ । शुक्रबार रातिबाट माथिल्लो चिंगार डाँडा नै खसेर खोला थुनिएको स्थानीयले बताएका छन् । खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा रहेको छ ।

जोखिम वस्तीका स्थानीयलाई सुरक्षित स्थानमा लगेर राखिएको वडाध्यक्ष सूर्यमान गुरुङले बताए । पहिरोका कारण मापुडाँडामा रहेको गोठ पनि भत्किएको र चार वटा गाई समेत वेपत्ता भएको उनले जानकारी दिए । उक्त क्षेत्रमा सेना र प्रहरीको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।