Jagaran Nepal शुक्रबार, साउन ०९, २०७७

मिसगाभ – इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले म’दिरा से’वन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ ।

यस उपकरणको प्रयोगले महामारीको हालको अवस्थालाई सामान्यीकरण गर्न ठूलो मद्दत गर्ने विश्वास लिइएको छ । परीक्षण किट निर्माण गरिरहेको नानोसेन्टले हाल इजरायलमा परीक्षण गरिएको यस मेसिनले ८५ प्रतिशत सही नतिजा दिएको जनाएको छ । यस उत्पादनलाई एक दुई महिनाभित्रै नियामक निकायबाट स्वीकृति लिने गरी काम भइरहेको कम्पनीले बताएको छ ।

प्रमुख कार्यकारी ओरेन गाभ्रिलीले ब्रेथलाइजरबाट जाँच भए पनि प्रयोगशाला परीक्षणको अलग्गै महत्व हुने बताउनुभयो । तर व्यापक समुदायमा परीक्षण गर्न यस मेसिनले मद्दत गर्ने भएकाले आममानिसलाई आत्मविश्वास सिर्जना गर्ने उहाँले बताउनुभयो । इजरायलको नानोसेन्ट कम्पनीले वर्षौंदेखि औषधि विज्ञान सहित उच्चस्तरका संवेदनशील उपकरण निर्माण गरिरहेको छ ।

भारतमा एकै दिनमा ४९ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ८७ हजार ९४५ पुगेको अधिकारीले जनाएका छन् ।
कोरोना भाइरस संक्रमणको कारण एकैदिनमा ७४० जनाको निधन भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण निधन भएकाको संख्या अहिलेसम्म ३० हजार ६०१ पुगेको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा अहिले पनि ४ लाख ४० हजार १३५ जना संक्रमित अवस्थामै रहेका छन् भने ८ लाख १७ हजार २०९ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र राज्यमा ३ लाख ४७ हजार ५०२ जना संक्रमित भएका छन् । त्यसपछि तमिलनाडुमा १ लाख ९२ हजार ९६४ संक्रमित रहेका छन् । राजधानीसमेत रहेको दिल्ली प्रदेशमा १ लाख २७ हजार ३६४ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । त्यसपछि आन्ध्र प्रदेश,कर्नाटका र तेलङ्गानामा कोरोना भाइरस संक्रमितहरु अरु राज्यको तुलनामा बढी नै रहेको छ ।

विश्वमा कोरोना भाइरस सक्रमितको संख्या एक करोड ५६ लाख नाघ्यो

विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ६६ हजार ८४० जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३६ हजार ७८७ व्यक्तिको निधन भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जानकारी दिएको छ । संक्रमितमध्ये हालसम्म ९५ लाख ५४ हजार ८९० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५४ लाख ७५ हजार १६३ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार १८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख ७० हजार १३१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४७ हजार ३३३ व्यक्तिको निधन भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३५ लाख ४५ हजार ४९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख २९ हजार २१६ जनाको निधन भएको छ । उत्तर अमेरिकामा ४८ लाख ८९ हजार ४९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ३ हजार ८८७ जनाको निधन भएको छ ।
युरोपमा २७ लाख ३६ हजार २५६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ५३१ को निधन भएको छ । एसिया ३६ लाख ८२ हजार ५४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८६ हजार ६७ जनाको निधन भएको छ । अफ्रिकामा सात लाख ९२ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६ हजार ७५६ जनाको निधन भएको छ । ओसियानामा १५ हजार २९३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६१ जनाको निधन भएको छ ।

भाइरसको त्रासका कारण रिपब्लीकन पार्टीको भेला स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लीकन पार्टीको चुनावी सभा स्थगित गर्नु भएको छ । अमेरिकाको फ्लोरिडामा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै ट्रम्पले बिहीबार भेला स्थगित गर्नु भएको हो ।

अमेरिकामा दिनप्रतिदिन बढ्दो कोरोना भाइरसको प्रकोपका कारण उक्त सम्मेलन स्थगित हुन पुगेको पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ कि यो समय सम्मेलन गर्नका लागि उचित समय होइन । त्यसैले मैले यस समयमा साथीहरुलाई यो सम्मेलन स्थगित गर्नुपर्छ म उहाँहरुलाई अनुरोध गर्नेछु ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अर्को महिना ज्याक्सनभिल्लेमा गर्न लागिएको अर्को भेला पनि रद्द गरेको जानकारी दिनुभयो । राष्ट्रपति ट्रम्पले यस्तो संकटको समयमा ठूला, भिडभाडयुक्त भेला गर्नु उपयुक्त नभएको स्पष्ट गर्नुभयो ।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयले संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ४० लाखभन्दा बढी पुगिसकेको विवरण सार्वजनिक गरेको केही घण्टापछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गर्नु भएको हो । अमेरिकामा कोरानाभाइरसकै कारण एक लाख ४४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

दोस्रो स्थानमा ब्राजिलमा सबैभन्दा बढीको निधन भएको छ भने भारतमा कोराना संक्रमितको संख्या नाटकीय रुपमा बढ्दै गएको छ । संयुक्तराज्य अमेरिकामा दक्षिणी र पश्चिमी राज्यहरु टेक्सास, क्यालिफोर्निया, अलाबामा, इडाहो र फ्लोरिडामा सबैभन्दा बढी प्रभाव देखिएको छ ।

राष्ट्रपति ट्रम्पले उत्तरी क्यारोलिनामा चाँडै अर्को भेला आयोजना गर्ने जानकारी दिनुभयो । यो बैठकले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि रिपब्लीकन पार्टीका तर्फबाट राष्ट्रपति ट्रम्पलाई पुनः उम्मेदवार बनाउन औपचारिक मनोनयन गर्नेछ ।

ज्याक्सनभिल्ले सम्मेलन आगामी अगष्ट २४–२७ मा हुँदैछ तर यो शहरमै अहिले कोरोना संक्रमितको संख्या दिनहुँ व्यापक रुपमा बढिरहेको छ । हाल सो सम्मेलनलाई सम्पन्न गर्न नसकिने तर र अन्यत्रका कार्यक्रमहरु भने निरन्तर गर्न सकिनेछ ।

उहाँले नर्थ क्यारोलिनाका सम्मेलनहरु भने समयमै आयोजना गर्न सकिने जनाउनुभएको छ । नर्थ क्यारोलिनामा आगामी अगष्ट २४ मा सम्मेलन राखिएको छ । अमेरिकामा पछिल्लो ससमयमा निकै ठूलो संख्यामा कोरोना भाइरसका संक्रमितहरु बढिरहेका छन् ।