Jagaran Nepal सोमबार, साउन ०५, २०७७

काठमाण्डौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पहिरोबाट एक युवकको मृत्यु भएको छ । आइतबार साँझ साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदिका २२ वर्षीय नवराज गुरूङको मृत्यु भएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।

खोल्सातिर शौचका लागि निस्किएका गुरूङको सोही बेला खसेको पहिरोमा पुरिएर मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख, एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । प्रहरीका अनुसार गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो गएको हो ।मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

त्यस्तै नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ । दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ । इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ ।