Jagaran Nepal शनिबार, साउन ०३, २०७७

तनहुँ, ३ साउन। बन्दिपुर गाउँपालिकाले दश हजार बाख्रालाई ‘पिपिआर खोप’ लगाएको छ । गाउँपालिकाभित्र रहेका छवटै वडाका टोलटोलमा प्राविधिक पुगी बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाएका हुन् । सो रोग लागेपछि बाख्रालाई बचाउन नसकिने हुँदा रोग लाग्नु अगावै अग्रिम खोप लगाउने अभियान थालिएको गाउँपालिकाका पशु शाखा प्रमुख मधुविलाश न्यौपानेले जानकारी दिनुभयो ।

त्यसैगरी गाउँपालिकाले तीन हजार पाँच सय गाईवस्तुमा खोरेत रोग विरुद्धको खोप तथा कुकुर र बिरालो गरी दुई सयलाई रेबिज विरुद्धको खोप लगाएको छ । गाउँपालिकाले दश वटा माउ बाख्रा पालेका कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बोयर बोका वितरण गरेको छ । गाउँपालिकाका २१ जना कृषकलाई रु ४० हजार बराबरको बोयर बोका वितरण गरिएको हो ।

स्थानीय जातको कुखुरा संरक्षण गर्ने उद्देश्यले पाँच जनालाई कुखुरापालन र पाँच जनालाई बङ्गुरपालनका लागि ५० प्रतिशत अनुदान रु ४० हजार सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।उक्त अनुदान पाउनका लागि गाउँपालिकाले तोकेअनुरुप मापदण्ड पूरा गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।