Jagaran Nepal शनिबार, आषाढ २७, २०७७

झापा । यहाँको एक नगरपालिकाले सलह किरा खरिद गर्ने भएको छ । जिल्लाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि ५ लाख बजेट विनियोजन गरेको हो । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरपालिकाले बजेट विनियोजन गरेको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो ।

‘सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौं’, उहाँले भन्नुभयो, ‘नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी १ सय दिने योजना ल्याएका छौँ ।’ खरिद गरिएको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी ५० दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ ।

यसैबीच, झापा क्षेत्र नम्बर २ की सांसद एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को न्यूनीकरणका लागि उहाँले स्यानिटाइजर, मास्क, ग्राउड, सर्जिकल क्याप, चस्मा, पञ्जालगायतका स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो ।