Jagaran Nepal शुक्रबार, आषाढ २६, २०७७

जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र अठार दिने शिशुसहित २४ जना कोरोना जितेर घर फर्किएका छन्। स्वाब परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेनमा रहेका सबै जनाको रिपोर्ट १४ दिनपछि फेरि परीक्षण गर्दा नेगेटिभ आएपछि बिहीबार साँझ उनीहरु घर फर्किएका हुन्।

सिञ्जा गाउँपालिका – ४ काडागाउँकी ३९ वर्षीया एक महिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएपछि आमा र बच्चा दुवैमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो।

प्रतिष्ठानको आइसोलेसनमा राखेर १४ दिनपछि पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि १८ दिने बच्चा, सुत्केरी आमासहित २४ जनालाई घर पठाइएको अस्पतालका निर्देशक डा। मंगल रावलले जानकारी दिनुभयो । प्रतिष्ठानको आइसोलेसनमा अझै १२ जना रहेका र उनीहरुको रिपोर्ट पनि नेगेटिभ आउने अपेक्षा गरिएको प्रतिष्ठानले जनाएको छ।

कोरोना जितेर घर फर्किएकाहरुलाई १४ दिनसम्म होम क्वरेण्टीनमा बस्न चिकित्सकले सुझाएका छन् । यस्तै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले चिकित्सकहरुको सुझावलाई मनन गर्दै व्यक्तिगत अनुशासन र भौतिक दूरी कायम गर्न समेत अनुरोध गर्नुभएको छ।

यस पटक कोरोना सङ्क्रमणबाट निको हुनेमा सुत्केरी महिला, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरु रहेका छन् । यसअघि पनि भारतबाट आएका केही व्यक्ति र क्वरेण्टीन व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सहयोगी गरी २६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका थिए।