Jagaran Nepal बुधबार, आषाढ २४, २०७७

काठमाडौं, २४ असार । केही दिनयता सरकारी ग्राफमा कोरोना संक्रमितको दर घटेपनि काठमाडौं उपत्यका भने महामारीको चपेटामा पर्ने खतरा बढ्दै गएको छ ।दैनिक २० जनाको संख्या संक्रमितको संख्या उकालो लागिरहँदा अब सरकारको ध्यान उपत्यकामा केन्द्रित हुनुपर्ने जनस्वास्थ्य विज्ञहरुको सुझाव छ ।

जुनदिनदेखि सरकारले लकडाउन खुकुलो बनायो त्यही दिनबाट काठमाडौं उपत्यकामा कोरोनाको सं,क,ट बढ्दै गएको छ । सरकारी तथ्यांकलाई हेर्ने हो भने उपत्यकामा असार २० गतेसम्म जम्मा १ सय ५४ जना संक्रमित थिए ।

त्यो संख्या २३ गतेसम्ममा बढेर २ सय ६६ पुगेको छ । २१ गते ३० जना, २२ गते ५४ जना र २३ गते २८ जना र बुधबार २३ जना नयाँ संक्रमित फेला परेका छन् । मानिसहरु भित्रिनुका साथै विदेशबाट आउनेहरुमा पनि संक्रमण देखिएपछि संक्रमितको ग्राफ उकालो लागेको छ ।

उपत्यकामा विदेशबाट पीसीआर टेस्ट नगरी आउने, चोरीको बाटो प्रयोग गरी आउने तथा विभिन्न रोगको उपचारका लागि अस्पताल पुग्दा परीक्षणका क्रममा संक्रमित पाइएको छ । उपत्यकामा हालसम्म देखिएका संक्रमितमध्ये ७९ जना विदेशबाट उद्धार उडानबाट आएका हुन् ।

नेपाल आएकामध्ये ३५ प्रतिशतले पीसीआर, ३५ प्रतिशतले आरडिटी तथा बाँकी चेकजाँचबिनै आएका छन् । यसले उपत्यका चाँडै कोरोनाको हटस्पट बन्ने सम्भावना बढेको छ ।

इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकाका विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँको चन्द्रागिरी, बूढानिलकण्ठ, धुम्बाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, बसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा संक्रमित भेटिएका छन् ।

यस्तै ललितपुरको धोबीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदावरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गठ्ठाघरमा संक्रमित भेटिएका छन् ।काठमाडौं उपत्यकामा ४० लाख जनसंख्या छ । जनघनत्व बढी भएका शहर कोरोना संक्रमणको हटस्पट बन्ने जोखिम बढी हुने हुँदा नागरिक थप सचेत हुन आवश्यक देखिएको छ ।सरकारले पनि उपत्यकामा एकदम न्यून मात्रामा भइरहेको परीक्षणको दायरालाई बढाउन आवश्यक छ ।

भिडियाे