Jagaran Nepal बुधबार, आषाढ २४, २०७७

काठमाण्डु, २४ असार–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड–१९) संक्रमण हावाबाट पनि फैलने पुष्टि गरेको छ । डब्ल्यूएचओले पहिलोपटक कोभिड–१९ महामारी हावाबाट पनि सर्ने जनाएको हो ।

डब्लुएचओकी प्राविधिक विभाग प्रमुख डा. मारिया वा केरखोवले मंगलबार आयोजित पत्रकार सम्मेलनमा हावाबाट कोरोना फैलने सम्भावनाको नजिक पुगिएको बताए । यसअघि वैज्ञानिकहरुले हावाबाट पनि कोरोना सर्ने दाबी गरिरहेका थिए ।

तर, विश्व स्वास्थ्य संगठनले वैज्ञानिकहरुका त्यस्तो दाबी अस्वीकार गरेको थियो । डब्लुएचओकी बेनेदेत्ता आल्लेग्रांजीले हावाबाट कोरोना फैलने प्रमाण भेटिएको बताइन् । उनले भिडभाडको स्थान, बन्द कोठार हावा कम भएको स्थानमा हावामार्फत् भाइरस फैलने सम्भावना अधिक रहेको बताइन् । उनले त्यसबारे थप प्रमाण संकलन र अध्ययन सुरु भएको उल्लेख गरिन् ।

डब्लुएचओले यसअघि संक्रमित व्यक्तिको नाक र मुखबाट निस्कने साना छिटा र स्वासबाट फैलने बताएको थियो । यति यो तथ्य प्रमाणित भएको अवस्थामा २ मिटरको सामाजिक दूरी कायम गरेर कोरोनाबाट बच्न सकिने मापदण्डमै परिवर्तन गर्नुपर्ने हुन सक्छ ।
बीबीसी