Jagaran Nepal बुधबार, आषाढ २४, २०७७

काठमाडौं, २४ असार । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६ जना, ललितपुरमा ७ जना संक्रमित देखिएका छन् ।

हालसम्म उपत्यकाका काठमाडौंमा १९१ जना, ललितपुरमा ५६ र भक्तपुरमा ४३ जना संक्रमित देखिएका छन् । उपत्यकामा तीन जिल्लामा हालसम्म २९० कोरोना संक्रमित देखिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर थपिएका २५५ संक्रमितमध्ये २३ जना काठमाडौं उपत्यकाका हुन् । योसँगै कूल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २५३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ७७५२ पुगेको छ । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा पनि दिनहुँ ठूलो संख्यामा संक्रमित थपिएका छन् । ठूलो जनघनत्वको काठमाडौं उपत्यकामा लकडाउन खुकुलो पारिएसँगै सामाजिक दूरीको ख्याल कम हुन थालेपछि पछिल्लो समय संक्रमण विस्तार हुँदै गएको छ ।

लकडाउन खुकुलो भएसँगै अन्य जिल्लाबाट काठमाडौं भित्रिनेहरुको संख्या पनि दिनहुँ बढिरहेको छ । जसले काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्ने खतरा बढ्दै गएको छ ।