Jagaran Nepal आइतबार, आषाढ २१, २०७७

बाजुरा । अविरल वर्षाका कारण त्रिवेणी र बूढी गंगा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुङ्गे पुलमाथि पानी बग्न थालेको छ । पुलमाथि पानी बग्न थालेपछि आवतजावतमा जोखिम भएको बूढीगंगा–२ का वडाध्यक्ष हिरालाल थापाले जानकारी दिनुभयो ।

लगातारको वर्षाले शुक्रबारदेखि पुलमाथि पानी बग्न थालेपछि त्रिवेणी र बूढीगङ्गा नगरपालिकामा आउन जान निकै समस्या भएको छ । पुलमाथि पानी बगेपछि जतिबेला पनि पुल बग्ने सम्भावना रहेकोले आवतजावतमा समस्या भएको स्थानीय वसन्त थापाले बताउनुभयो ।

लगातार वर्षाले बाजुराका अन्य झोलुङ्गे पुल पनि जोखिममा छन् । बूढीगंगा नदीले बाजुराको द्वारी, तिपाडा, राप्का, अछामको साँफे, बुढाबगरलगायत ठाँउका दर्जनौँ पुल उच्च जोखिममा छन् । त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् ।

बूढीगंगा नदीको द्वारीमा रहेको झोलुङ्गे पुल बगाइसककेको स्थानीय धन जैशीले बताउनुभयो । कर्णालीको पिलिचौरमा रहेको झोलुङ्गे पुल बर्सातको समयमा सधैँ जोखिममा पर्ने गरेको छ । त्योसँगै कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन् ।

वाई र वाधु जोड्ने पुल, गोत्रीको साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोड्ने आधा दर्जन पुल जोखिममा रहेका हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो । झोलुङ्गे पुलभन्दा माथि कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका वाई, साप्पाटा, जुकोट गाउँपालिकामा आवतजावत प्रभावित बनेको छ ।