Jagaran Nepal आइतबार, आषाढ २१, २०७७

घर बलियो हुन जग बलियो हुनुपर्छ भनेझैं मानिसको जीवन स्वस्थ हुन उसको बाल्यकालले अहम् भूमिका निर्वाह गर्छ । मानिस जन्मेपछिको हजार दिन जीवनकै संवेदनशील समय हो । यस समयमा शिशुलाई पर्याप्त मात्रामा स्याहारसुसार र पोषण मिलेमा मात्र उसको मस्तिष्क र शरीरको विकास सही ढङ्गले हुन सक्छ ।

यसले मानिसलाई जीवनभर स्वस्थ रहन मद्दत गर्छ । पोषण र स्याहारको कमीले शिशुको शारीरिक विकासका साथै सिक्ने क्षमतामा कमी आउन सक्छ । त्यस्तै, पोषण र स्याहारको कमी भएमा विभिन्न किसिमका सङ्क्रामक रोग पनि लाग्न सक्छन् । यसले शिशुको रोग प्रतिरोधात्मक क्षमताको पनि आधार तय गर्छ । शिशु हेरचाह कसरी गर्ने भन्ने कुराको सही ज्ञान आमालाई हुनु आवश्यक छ ।

आमाको दूध
भनिन्छ, आमाको दूध अमृतसमान हुन्छ । शिशुको प्रतिरोधात्मक क्षमताको विकास गर्न शिशुलाई जन्मेको १ घण्टाभित्र आमाको दूध खुवाउनु जरुरी छ । यसको लागि सबैभन्दा पहिला शिशुको जन्म हुनासाथ न्यानो, सफा र नरम कपडाले उसको शरीर पुछेर आमाको छातीमा केही समय टाँसेर राख्नुपर्छ । यसो गर्नाले शिशुलाई आराम मिल्छ र स्तनपानका लागि सहज हुन्छ । शिशुको जन्मपछि उसलाई घिउ र मह चटाउने गरिन्छ, तर आमाको दूधभन्दा राम्रो अरु केही पनि नभएको बालरोग विशेषज्ञहरू बताउँछन् । त्यसपछि २४ घण्टाभित्र ८ देखि १० पटक (राति २ पटक अनिवार्य) स्तनपान गराउनुुपर्छ । स्तनपान गराइसकेपछि शिशुलाई आमाको छातीमा राखेर पिठ्युँ मुसारिदिनुपर्छ । त्यसपछि शिशुलाई सुताइदिनुपर्छ ।

करिब हजार दिनसम्म शिशुलाई आमाको दूध खुवाउनु स्वस्थकर हुन्छ । शिशुले स्तनपान गरेर नै पर्याप्त मात्रामा पोषक तत्त्व प्राप्त गर्न सक्छ । यसले शिशु र आमाबीच माया पनि प्रगाढ बनाउने बताइन्छ ।

कतिपय महिला आफ्नो दूध पर्याप्त मात्रामा नआउने भनी चिन्तित हुन्छन् । यदि स्तनपान गरेपछि शिशु डेढदेखि २ घण्टा आरामले सुत्छ, उसको तौल सामान्य रूपमा बढिरहेको छ र दिनमा ६ देखि ८ पटक पिसाब गर्छ भने शिशुलाई आमाको दूध पर्याप्त रूपमा पुगेको मानिन्छ । यस कुरामा परिवारका सदस्य तथा स्वास्थ्य कार्यकर्ताले आमालाई राम्रोसँग सम्झाई आत्मविश्वास बढाउनुपर्छ । शिशुलाई जति बढी दूध चुसायो उति नै बढी दूध बन्छ । शिशुलाई ६ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्छ । ६ महिनासम्म शिशुलाई पानी खुवाउनु पनि त्यति आवश्यक छैन । शिशुलाई जति बढी तिर्खा लाग्छ, त्यति नै बढी दूध खुवाउन सकिन्छ ।

त्यसपछि ६ महिनादेखि १८ महिनाको बालबालिकाको पोषणसम्बन्धी आवश्यकता केही परिवर्तन हुन्छ । बच्चालाई यस समयमा दूधबाहेक ठोस आहार पनि चाहिन्छ । भिटामिन्स र मिनरल्सबाहेक प्रोटिन्स, फ्याट, आइरन र कार्बोहाइड्रेटको पनि आवश्यकता हुन्छ । मस्तिष्कको विकासका लागि आइरन र हड्डी तथा मांसपेशीको विकासका लागि क्याल्सियमयुक्त आहार पनि खुवाउन आवश्यक छ । त्यसैले यस समयमा आमाको दूधका साथै बदाम, काजु, किसमिस आदि ड्राइ फ्रुट्स, जाउलो, लिटो, खिचडी, हलुवा, मुछेको आलु, केरा, सागसब्जी, दूध, दही, चिज, पनिर आदि दुग्धजन्य पदार्थ, अण्डा आदि पनि कुवाउनु आवश्यक छ । सुरुमा शिशुलाई पचाउन सजिलो हुने किसिमका खानेकुरा खुवाउनुपर्छ । खानेकुरा नरम हुनु आवश्यक छ ।

करिब १ वर्ष पुगेपछि बालबालिकालाई परिवारसँगै बसाएर खुवाउन सकिन्छ । यसले बच्चामा खानेकुरा छान्ने बानी पनि विकसित हुन्छ । ड्राइ फ्रुट्समा क्यालोरी धेरै हुने भएकाले यो कम मात्रामा दिनुपर्छ । त्यस्तै, शिशु दुई वर्षको भएपछि भात, रोटी, गेडागुडी, फलफूल, माछा, मासु, आदि पनि बिस्तारै खुवाउन सकिन्छ । यसले उसको शरीरमा पोषक तत्त्वको कमी रहन दिँदैन । तर, बच्चाको शरीरले कस्तो खाना पचाउन सक्छ, त्यो भने विचार गर्नै पर्छ । शिशुलाई स्वच्छ पिउने पानी पनि खुवाउनुपर्छ । स्तनपान भने साबिकबमोजिम गराइराख्नुपर्छ । दुई वर्ष पूरा भएपछि स्तनपान बन्द गरी ठोस कुराहरू दिनको पाँच पटकसम्म खुवाउनुपर्छ ।

बालबालिकालाई सफ्ट ड्रिङ्क्स, धेरै नुनिलो, पीरो, मसालायुक्त खाना, जङ्कफूड जस्तै चाउचाउ, बिस्कुट आदि दिनु निकै हानिकारक हुन्छ । यस्तो आहारले स्वास्थ्यमा ठूलो समस्या ल्याउन सक्छ ।

हरेक डाक्टरले बालबालिकाको स्वास्थ्य ठीक राख्न र पर्याप्त पोषक तत्त्व प्रदान गर्न दूध जस्तो राम्रो उपाय अरु नहुने बताउँछन् । गाईको दूधमा धेरै प्रकारका पोषक तत्त्व हुन्छन् । दूधमा क्याल्सियम र प्रोटिनको मात्रा प्रशस्त मात्रामा पाइन्छ । विशेषतः भैंसीको दूधमा भन्दा गाईको दूधमा कोलस्ट्रोल कम र मिनरल्स धेरै हुने भएकाले गाईको दूध सबैभन्दा राम्रो मानिन्छ । यसले मांसपेशी र हड्डीलाई बलियो बनाउँछ । कतिपय शिशुहरूको पाचन प्रणाली ठीक नहुने र उनीहरू रोइरहने गर्न सक्छन् । पोषण तत्त्वको कमीले गर्दा राम्ररी ननिदाउने समस्या हुन सक्छ । यसले स्वास्थ्य बिग्रन सक्छ । त्यसैले दूध नियमित खुवाइराख्नु आवश्यक छ । यसले बच्चालाई राम्रो निद्रा लाग्न र पाचनमा पनि सहयोग गर्छ ।

शरीरको तापक्रम सन्तुलित राख्नुपर्छ

नवजात शिशुको शरीरमा तापक्रम सन्तुलित गर्ने शक्ति कम हुन्छ र जाडो मौसममा शिशुको शरीर चिसो हुने सम्भावना बढी हुन्छ । शरीरको तापक्रम सन्तुलित राख्न न्यानो, सफा र नरम कपडाले शरीर ढाकिराख्नुपर्छ । टोपी, भोटो, दौरासुरुवाल, मोजा, पन्जा आदि लगाइदिनुपर्छ । शिशुले पिसाब गरेको छ कि छैन भनी समयसमयमा विचार गरिरहनुपर्छ । शिशुले पिसाब फेरेपछि शरीर पुछेर न्यानो बनाइराख्नुपर्छ । शिशुलाई जन्मनासाथ नुहाउनुहुँदैन । शिशु जन्मिएको २४ घण्टापछि मन्द तातो पानीले नुहाइदिनुपर्छ । कोठाको तापक्रम न्यानो हुनुपर्छ । करिब २५ देखि २८ डिग्री सेल्सियस तापक्रम शिशुको लागि उपयुक्त हुन्छ । कोठालाई गुम्स्याउनुहुँदैन । कोठामा हावाको आवतजावत भइराख्नुपर्छ । शिशु सुत्ने कोठामा पङ्खा चलाउनुहुँँदैन ।

शरीरको मालिस
शिशुलाई तेलले मालिस गर्नु र मन्द तातोले सेक्नु आवश्यक छ । यसले शरीरको तापक्रम सन्तुलित राख्छ र रक्तसञ्चार राम्ररी हुन्छ । यसो गरेमा शिशु आनन्दले निदाउँछ र धेरै रुँदैन । तोरी, जैतुन तथा नरिवलको तेल शिशुको लागि लाभदायी भए पनि नरिवलको तेल भने चिसो समयमा लगाउनु हुँदैन । आँखा, नाक, कान, नाइटो र जननेन्द्रियमा भने तेल लगाउनुहुँदैन । शिशुलाई घाम तथा न्यानो कोठामा राखेर तेल लगाइदिनुपर्छ ।

छालाको सरसफाइ र सुरक्षा
शिशु जन्मनासाथ शिशुको शरीरमा टाँसिएको रगत र फोहोर राम्ररी जाने गरी न्यानो, नरम र सफा कपडाले पुछिदिनुपर्छ । जन्मिएको २४ घण्टापछि नुहाइदिन मिल्छ । जाडो महिनामा नुहाउनुभन्दा पुछिदिनु राम्रो हुन्छ भने गर्मी महिनामा हल्का नुहाइदिनुपर्छ ।

नाइटोको सुरक्षा
नाइटोलाई सुख्खा र सफा राख्नुपर्छ । नाइटोमा तेल अथवा अन्य कुनै पनि पदार्थ राख्नुहँुदैन । कुनै कारणवश नाइटो पाके अथवा नाइटोवरिपरिको भाग रातो भए स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नपर्छ ।

आँखाको सुरक्षा
सफा र मन्द तातो पानीमा कपास भिजाएर शिशुका दुवै आँखा दैनिक सफा गरिदिनुपर्छ । आँखाबाट धेरै चिप्रा आए चिकित्सकको सल्लाह लिनुपर्छ । आँखामा गाजल लगाउनु हानिकारक हो । यसले आँखा पाक्न सक्छ ।

खतराको लक्षण
नवजात शिशुमा हुने खतराको लक्षण सबै आमालाई थाहा हुनुपर्छ । शिशुलाई ज्वरो आउनु, शरीर चिसो हुनु, शिशुले दूध नचुस्नु, ह्वालह्वाल बान्ता गर्नु, छिटोछिटो सास फेर्नु, शिशु सुस्त हुनु, कम्पन आउनु, कान पाक्नु, नाइटो वरिपरिको छाला रातो हुनु वा पिप बग्नु, शिशुको हातखुट्टामा पहेंलोपन देखिनु, कम पिसाब गर्नु आदि खतराका लक्षण हुन् । यी लक्षण देखापरे तुरुन्त चिकित्सककहाँ लैजानुपर्छ । यस्तो अवस्थामा बेवास्ता गर्नाले शिशुको ज्यानसमेत जान सक्छ ।

चिकित्सकको सल्लाह र निगरानी
शिशु जन्मिएको दिनका साथै ३ दिन, ७ दिन, २८ दिनमा शिशुलाई उपचारको आवश्यकता पर्छ । त्यसपछि प्रत्येक ३–३ महिनामा शिशुको स्वास्थ्यस्थिति सामान्य छ कि छैन भनी परीक्षणको लागि चिकिस्तककहाँ लैजान आवश्यक छ । यसका साथै शिशुलाई केकस्तो आहार खुवाउने र स्याहारसुसार कसरी गर्ने भन्ने विषयमा चिकित्सकसँग सल्लाह लिइराख्नुपर्छ ।

उमेरअनुसार शिशुको तौल र उचाइ
शिशु जन्मिँदा उसको शरीरमा पानीको मात्रा बढी हुने भएकाले एक हप्तासम्म ५ देखि ७ प्रतिशत तौल कम हुन सक्छ तर ७ देखि १० दिनमा शिशुले पुनः जन्मिँदाको तौल प्राप्त गर्छ । शिशुको तौल बिस्तारै बढ्न थाल्छ । शिशुको तौल ४ देखि ६ महिनामा दुई गुणा बढ्छ र एक वर्षको हुँदा ३ गुणा बढ्छ । यसैगरी शिशु जन्मँदा सामान्यतया ४५ देखि ५० सेन्टिमिटर हुन्छ भने एक वर्षमा करीब ७५ सेन्टिमिटर पुग्छ ।

भ्याक्सिन
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको खोप महाशाखाअन्तर्गत स्वास्थ्य संस्थाले दिने खोप नियमित रूपमा दिइराख्नुपर्छ । यसअन्तर्गत शिशु जन्मिएको दिनदेखि डेढ महिनाभित्र बीसीजी, डेढ महिनामा, साढे दुई महिनामा, साढे तीन महिनामा डीपीटी, हिब, हेपाटाइटिस बी, पोलियो र नौ महिना पूरा भएपछि दादुराको खोप लगाउनुपर्छ । त्यसबाहेक अन्य थप खोप पनि लगाउनुपर्र्ने हुन सक्छ ।

यसरी यदि हजार दिनसम्म शिशुको स्याहार गर्ने हो भने शिशुको रोग प्रतिरोधात्मक क्षमतामा विकास भई शिशु स्वस्थ रहन्छ र यसले स्वस्थ जीवनको आधार तय गर्छ । शिशु स्वस्थ रहनको लागि ऊ रहने वातावरण पनि त्यतिकै शान्त र स्वच्छ हुनु आवश्यक छ ।


एजेन्सी