Jagaran Nepal आइतबार, आषाढ २१, २०७७

काठमाडौं, २१ असार । यस वर्षको एसईई परीक्षामा सबै विद्यार्थीको ग्रेड ‘सी’भन्दा मुनि नआउने देखिएको छ । अधिकांश विद्यालयले गर्ने अन्तिम मूल्याङ्कन हेर्दा सबैले ‘ए’ प्लस देखि ‘सी’ सम्मको ग्रेड पठाउने भएका छन् ।विद्यालयले तीन तहको परीक्षाको आधारमा जिल्ला शिक्षा समन्वय इकाइलाई पठाएको अंकमा इकाइले प्रमाणित गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाउने भएको छ ।मन्त्रिपरिषद्को बैठकले विद्यालयले पठाएको अन्तिम मूल्याङ्कनको आधारमा प्रमाणपत्र दिने निर्णय गरेपछि आफ्ना सबै विद्यार्थीलाई ‘ए’ प्लस देखि ‘ई’ ग्रेड आउने सम्मको नम्बर दिने अधिकार विद्यालयलाई नै हुनेछ ।अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिएपछि सबै विद्यार्थीले ‘सी’ भन्दा तल नआउने आँकलन गरिएको छ ।

यो पनि कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

काठमाडौँ । सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को परीक्षा सञ्चालन गरी मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिने निर्णय सरकारले गरेको जानकारी दिनुभयो । सरकारको यो निर्णयसँगै लामो समयदेखि केन्द्रीय तहबाट सञ्चालन गरिँदै आएको कक्षा ११ को परीक्षा सञ्चालन र विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालय तहमा पुगेको छ । नेपालमा २०४९ सालदेखि कक्षा ११ को पठनपाठन सुरु भएकोमा केन्द्रीय तहबाटै परीक्षा सञ्चालन तथा विद्यार्थीको नतिजा प्रकाशन गर्ने गरिएको थियो ।

परीक्षा बोर्डले कार्यविधि बनाउने

यो निर्णय कार्यान्वयनमा ल्याउन राष्ट्रिय परीक्षा बोर्डले आवश्यक कार्यविधि बनाउने निर्णय पनि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गरेको छ । साथै परीक्षा सञ्चालनको मापदण्ड, विद्यार्थीको मूल्याङ्कन नम्बर दिने मापदण्ड तथा प्रमाणीकरणको आधार लगायतका विषयमा कार्यविधि स्पष्ट गरिने महानिर्देशक दाहालले बताए ।

बोर्डले नै विद्यार्थीको अन्तिम अभिलेख हेर्ने र शैक्षिक प्रमाणपत्र समेत जारी गर्ने भएकाले कार्यविधि बनाउने अधिकार बोर्डलाई दिइएको हो । यसका साथै हाल स्थगित अवस्थामा रहेका कक्षा ११ का परीक्षा सञ्चालन तथा मूल्याङ्कन अब विद्यालयबाटै हुनेछ । विद्यालयले अन्तिम मूल्याङ्कन गरिदिएपछि कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई कक्षा १२ मा अध्ययन गर्ने बाटोसमेत खुल्नेछ । साथै ती विद्यार्थीमा लामो समयदेखि रहेको अन्योलसमेत अब हट्ने भएको छ ।

गत वैशाखमा सञ्चालन गर्ने भनिएको कक्षा ११ को परीक्षा कोरोना भाइरस सङ्क्रमणका कारण स्थगन छ । यसअघि सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम मूल्याङ्कन गर्ने अधिकार एक पटकका लागि विद्यालयलाई नै दिने निर्णय गरेको थियो । अर्को पटकबाट कक्षा १० को परीक्षा प्रदेशबाट सञ्चालन गर्नेगरी कानुनी व्यवस्थापन गर्ने सरकारी योजना छ ।

गाेरखापत्र दैनिकबाट