डा. प्रमाेद ढकाल आइतबार, आषाढ २१, २०७७

भगवान् शब्द ‘भग’ र ‘वान्’ शब्दहरू मिलेर बनेको छ । यहाँ ‘वान्’ को अर्थ युक्त वा दाता हुन्छ भने ‘भग’ का अर्थ विविध हुन सक्छन् । भगको सवैभन्दा प्रसिद्ध माने जन्म दिने योनि हो । जन्म दिनुकै कारण यसले स्वाभाविक रूपमा गुण, लिङ्ग र परिचयको उपस्थितिलाई पनि समावेश गराउँछ । त्यो अर्थमा भगवान् भन्नाले गुणवान्, परिचययुक्त, जन्माउनसक्ने, मागेको वस्तु वा शक्ति दिन समर्थ, र असाधारण गुणले युक्त भन्न सकिन्छ । ब्रह्म र ईश्वर वेदकै समयदेखि अति प्रचलित शब्द रहेका देखिन्छन् भने भगवान् शब्द चाहिँ इतिहास र पुराणको समयदेखि अति प्रसिद्ध र अति प्रचलित बनेको देखिन्छ ।

अमरकोषको परिभाषा अनुसार भगको अन्य अर्थ श्री (समृद्धि), कामना, महात्म्य (ऐश्वर्य), वीर्य (पराक्रम), प्रयत्न, तेज (सूर्य, सुन्दरता), र यश (कीर्ति) हुन्छ । त्यो अर्थमा भगवानकाे अर्थ समृद्धिवान, महात्मा, पराक्रमी कर्मशील, यजस्वी भन्ने हुन सक्छ । यी गुणहरूको प्राप्तिलाई भाग्य मानिने अर्थमा भगवानलाई भाग्य दाता भनेर पनि भन्न सकिन्छ । हिन्दी विकिपिडियामा जोसँग ऐश्वर्य, वीर्य, स्मृति, यश, ज्ञान र सौम्यताका गुण हुन्छन् त्यहि भगवान् हो भनेको छ । त्यहीँ पाली भाषामा भगवानकाे ‘भेज’ धातुको अर्थ तोड्नु भएकाे हुनाले जो राग, द्वेष र मोहको बन्धनबाट मुक्त भएर तर्क र विचार शून्य अवस्थामा हुन्छ त्यही भगवान् हाे भनिएकाे छ ।

कहीं भगलाई प्रेमको प्रतीक मानेको पनि भेटिन्छ । त्यो अर्थमा भगवानलाई प्रेम-भावनाले युक्त भनेर भन्न सकिन्छ । कतै भगवान प्रकृतिका मूल पाँच तत्व भूमि, गगन (आकाश) वायु, अग्नी, नीर (पानी) का पहिला अक्षरहरू मिलेर बनेको भनेको भेटिन्छ । त्यो मानेमा भगवानकाे अर्थ साधन-सम्पन्न, उपादान-कारण वा रचनाकार भन्ने हुन सक्छ । विष्णु पुराणमा जसले उत्पति र प्रलयलाई, जीव-निर्जीव भूतको जन्म र मृत्युलाई, विद्या र अविद्यालाई जान्दछ उही भगवान कालाउँछ भनिएको छ । यो अर्थमा भगवानलाई सर्वज्ञ मानिएको देखिन्छ । योगदर्शनले ईस्वरलाई सर्वज्ञताको बीऊ मानेकाले भगवानलाई सर्वज्ञताको प्रकट वृक्ष मान्नुपर्ने देखिन्छ ।

जुनसुकै परिभाषा दिइए पनि भगवान् प्रकृतिले पनि युक्त हुनु पर्छ, शरीरले पनि युक्त हुनुपर्छ; शरीरले पनि युक्त हुनपर्छ, अन्यको जन्म दिन आवश्यक भौतिक तत्त्वहरूले युक्त हुनु पर्छ । त्यसैले भगवान् राम, भगवान् कृष्ण, विष्णु भगवान्, शिव भगवान्, भगवान् बुद्ध, देवी भगवती, दुर्गा भगवती, आदि अनेकाैँ भगवान र भगवतीको वर्णन पौराणिक साहित्यमा गरेको भेटिन्छ । यो अर्थमा कुनै समयमा शरीरधारी जीव (खासगरी मानिस) का रूपमा जन्मेर, उसै झैँ जिएर मरेका तर ईश्वरीय शक्तिले युक्त भएका कारणले गर्दा शरीर मरे पनि उनीहरू नमरेका मानिने जो कसैलाई वैदिक दर्शनमा भगवान् शब्दले पुकार्ने गरिन्छ । हालसालै मरेका रजनीशलाई उनका अनुयायीहरूले भगवान् रजनीश भनेर सम्बोधन गर्छन् । उनीहरूले ईश्वर रजनीश भन्दैनन् । भगवान् भनेर सम्बोधन गरिने महापुरुषहरू कुनै समयमा जन्मेर मरेका हन्छन् (अवतारकै रूपमा किन नहोस), तर ईश्वरलाई जन्मिने वा गर्ने मानिँदैन ।

भगवान् सम्बन्धी यस्तो धारणा राखे हनाले हिन्दु धर्मावलम्बीहरूले येशू ख्रीष्ट वा माेहम्मद भगवान् हुन् भन्दा आपत्ति मान्दैनन, तर कृष्ण, राम, बुद्ध आदि होइनन् भन्दा त्यसमा आपत्ति जनाउने गर्छन् । त्यस्तो किन हुन्छ भने उनीहरूको विचारमा भगवान् अनेका अवतारमा प्रकट हुन सक्छन् । मानिसकाे अवतारकाे त कुरै छाेडाैँ कछुवा, सुँगुर आदि जनावरकाे रूपमा पनि प्रकट हुन सक्छन् । तर भगवान्काे अनेकाैँ रूप हुन सके पनि एउटा खास उपासकका लागि ती धेरै मध्येका तीमात्र भगवान् हुन् जसकाे उपासना त्याे उपासकले गरेकाे हुन्छ ।

याे मानेमा अलग-अलग मानिसले अलग-अलग भगवान्मा विश्वास गरेर तत् तत् भगवानकाे मात्र पूजा गर्नुलाई वैदिक परम्परामा स्वभाविक मानिन्छ । त्यस्ताे किनभने ब्रम्हा मात्र एक हुन्, ब्रम्हामा अन्तरनिहित ईश्वर तत्त्व वा परमेश्वर पनि एकमात्र छन्, तर भगवान अनेकाैँ हुन सक्छन् ।

हुन त ब्रह्मका प्रकृति र पुरुष दुवै गुण पूज्य हुनु पर्ने हो, फेरि पनि मानिसको प्रवृत्ति अनुसार काेही प्रकृतिमात्र माने र पुरुष नमान्ने र कोही पुरुषमात्र मान्ने र प्रकृति नमान्ने पनि हुन्छन् । अनि पुरूष मात्र मान्नेले ब्रम्हा वा ॐ को ईश्वर पाटोलाई मात्र मान्छन् ।

भगवान ती हुन् जो अन्य मानिस वा जीव झैँ जन्मे-हर्केको, सन्तान जन्माएको र मरेको देखाइँदा देखाइँदै पनि उनका अनुयायीहरुले उनीहरूको शरीरमात्र मरेको तर ईश्वरीय शक्ति नमरेको मान्छन् । भगवानका अवतार हुने भए पनि ती दुर्लभ मानिन्छन् र सीमित संख्यामा भएको मानिन्छन् । अवतारवाद यही मान्यताको धरातलमा वर्णित हन्छ।

प्राचीन ग्रन्थहरूमा कुनै तपस्वीले तपस्या गर्दै जाँदा भगवान् प्रकट भएको र वरदान दिएको भनेर लेखेको पाइन्छ । ईश्वर प्रकट भएको भनेर लेखेको पाइँदैन । यसबाट भन्न सकिन्छ कि आफ्नो कुनै उपकारको चाहना बोकेर पूजा, यज्ञ वा तपस्या गर्ने भक्तले खास नामले युक्त भगवानकाे (वा देवताको) सङ्कल्प गरेर पूजा, यज्ञ वा तपस्या गर्दछन् । अनि उनीहरूको इच्छाको परिपूर्ति पनि ती इच्छाइएका भगवानले नै गर्दछन् । त्यसैले सहस्राब्दीऔं देखि यहाँ भगवानका मन्दिर वा मूर्ति बनाइँदै छन्, ईश्वरको मन्दिर वा मूर्ति बनाइएको पाइँदैन ।

वैदिक परम्परा अन्तर्गत लेखिएका कुनै पनि कथा वा लेखहरूमा मानिसको जस्तो रूपमा प्रकट भएर वरदान दिनसक्ने अर्थमा जेलाई चित्रण गरेको भए पनि त्यो रूपलाई भगवान् भनिन्छ । एउटा भक्तका अगाडि सूर्य भगवान प्रकट भएर खास वरदान दिएर अन्तरध्यान भए भनेर लेखेका ठाउँमा भगवान शब्दलाई वरदानदाताको अर्थमा लिनु पर्छ । भगवान् त्याे इच्छित शक्ति हाे जसले भक्तलाई वरदान दिन वा भाग्य-दान गर्न सक्छ । त्यसकारण जसले इच्छित वर वा भाग्य दान गर्न सक्छ त्यो भगवान हो । (डा. ढकालकाे पूर्वीय दर्शनको पुनर्व्याख्या पुस्तकबाट)