Jagaran Nepal शनिबार, आषाढ २०, २०७७

लकडाउन केहि खुकुलो भए पनि सार्वजनिक सवारी साधन भने तत्काल सञ्चालनमा नआउने भएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ भनी गोरखापत्रमा समाचार छापिएपछि यातायात व्यवसायी संघमा हल्लीखल्ली मच्चिएको थियो ।

तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जानकारी दिएको उल्लेख थियो ।

तर अहिले आइतबारबाट सार्वजनिक यातायात खुल्ने भनि बाहिर आएका कुरा हल्ला मात्र भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी गराएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग छलफल भइरहेकाले आइतबारबाट नै सार्वजनिक यातायात चल्ने कुरा झुटो भएको आज (शनिबार) स्पष्ट पारेको छ ।

महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले यातायात सञ्चालन गर्ने विषयमा छलफल भइरहेकाले महासंघले आन्दोलन गर्ने कुनै निर्णय नगरेको जानकारी दिएका छन् ।‘हामी सरकारसँग कसरी सार्वजनिक यातायात सञ्चालन गर्ने भन्ने छलफलमा छौं,’ कर्मचार्यले भने, ‘कहिले कसरी चलाउने भन्ने निणर्य भएको छैन ।’

केही सञ्चारमाध्यममा असार २१ देखि यातायात व्यवसायी महासंघले आन्दोलन गर्ने भन्ने झुटो भएको उनले बताएका छन् ।सरकारले साउन ७ गतेसम्म त लकडाउन गरेकै छ,’ उनले थपे, ‘व्यवसायीले कुनै योजना विना यातायात सञ्चालन गछौं भनेर हुँदैन सरकारसँग छलफल गरेर समझदारीमा चल्नु पर्छ ।’