Jagaran Nepal शनिबार, आषाढ २०, २०७७

काठमाण्डौं – काठमाण्डौंमा एक १३ महिने शिशुमा कोरोना भाइरस (कोभिड–१९ं) संक्रमण पुष्टि भएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत उदयपुरको शिशुमा कोरोना देखिएको हो । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले शिशुको अवस्था सामान्य रहेको बताए । शिशुको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगिएको छ ।

आइसोलेसनमा राखेर उपचार गरिएका कारण अन्य बिरामी र बिरामीका आफन्तमा संक्रमण नभएको दाबी अस्पतालको छ । शिशुको उपचारमा संलग्न चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पीसीआर परीक्षणको तयारी भइरहेको छ ।

त्यस्तै ट्राभल हिष्ट्री नभएका उपत्यकाका बासिन्दामा कोरोना भाइरस संक्रमण देखिएपछि कोरोना संक्रमण समुदायमा गए नगएको अध्ययन हुने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा एक हप्तामा एक हजार दुई सय नमुना संकलन गरी परीक्षण गर्ने भएको छ।

हलसम्म उपत्यकामा देखिएका मध्ये १२ जनाको कुनैपनि ट्राभल हिष्ट्री नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।आज शनिबारदेखि महाशाखाले नमुना संकलन कार्य सुरु भएको जनाएको छ। महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले आज काठमाडौंको कोटेश्वर क्षेत्रबाट ११८ र ललितपुरको नख्खु टोलबाट ११० जनाको स्वाबको नमुना संकलन गरिने जानकारी दिए। समुदायका मानिस जसको कुनै बाहिर गएको यात्रा विवरण छैन, संक्रमित व्यक्तिसँग सम्पर्क छैन उनीहरुलाई संक्रमण देखिएको पछि संक्रमण समुदायमा फैलिएको आंशका गर्न थालिएको छ।

केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा गइन । घरबाट कहीँकतै नगएकी उहाँमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना पोजेटिभ देखिनुले उपत्यकाको समुदायमा पनि सङ्क्रमण पुगेको पुष्टी हुन्छ । उपत्यकामा यसरी स्थानीयमा देखिन थालेको करिब एक हप्ता मात्रै भएको जनाइएको छ ।

कसरी आफूमा देखियो भनेर सङ्क्रमित व्यक्तिले पनि अनुमान लगाउन सकेका छैनन् । परिवारमा नदेखिँदा उहाँमा कसरी भयो भन्ने खोज्न अहिले स्वास्थ मन्त्रालयको एक समूह लागेको छ । परिवारमा पनि सङ्क्रमण नभएको, विदेश पनि नगएको, विदेश गएका व्यक्तिको सम्पर्कमा पनि नपुगेको व्यक्तिमा सङ्क्रमण देखिनुले अब उपत्यका थप जोखिममा छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

“पछिल्लो एक हप्तामा उपत्यकामा त्यस्ता केसहरु देखिन थाले, कहीँ पनि नगएको व्यक्तिमा कोरोना सङ्क्रमण देखियो, हामी कन्ट्रयाक ट्र्ेसिङ गरिरहेका छौँ”, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, “यस्तो कसरी भयो भन्ने यकिन गर्दैछौँ ।” “त्यस्ता व्यक्तिमा कि कुनै अस्पतालमा जँचाउन जाँदा स¥यो कि तरकारी वा केही चिज किन्न जाँदा हुनसक्छ या त भीडभाडमा पुग्दा सङ्क्रमण भएको हो”, डा गौतमले अनुमान गर्दै भने ।

भारतीय सीमा जोडिएको जिल्ला र भारतबाट आएका नेपाली बसोबास गरेको क्षेत्रमा बढी कोरोना सङ्क्रमित फेला पर्दै आएकोमा त्यो क्रम विस्तारै उपत्यकामा सरेको तथ्याङ्कले देखाएको छ । विगतमा उपत्यकाका तीन जिल्लामा विदेशबाट आएका नेपालीमा मात्रै सङ्क्रमण देखिँदै आएकोमा अहिले स्थानीय समुदायमा समेत देखिन थालेको हो । थप सतर्कता नअपनाए उपत्यकामा सङ्क्रमण जोखिम बढ्ने चिकित्सकको भनाइ छ ।