Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

काठमाडौं । वार्षिकअन्तर्गतका परीक्षा स्थिति सामान्य भएपछि सञ्चालन गरिने बताइएको छ। परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेकोले बन्दाबन्दी हटेपछि नियमित परीक्षा गरिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले सबै विद्यार्थी घर गएका छन् । बन्दाबन्दी खुलेर यातायात सहज भएपछि विद्यार्थी आउने वातावरण हुन्छ अनि विद्यार्थीलाई केही समय बाँकी राखेर पुनः परीक्षाको कार्यतालिका सार्वजनिक गर्नेछौँ ।’ त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगित गरेको थियो ।

यसैगरी परीक्षा नियन्त्रण कार्यालयले बन्दाबन्दीको बीचमा १४ वटा तहका परीक्षाफल प्रकाशित गरेको छ । गत वैशाख २० गतेबाट कार्यालय कर्मचारीलाई ल्याएर परीक्षाफल प्रकाशित गरिएको हो । उहाँका अनुसार स्नातक तहका व्यवस्थापन सङ्काय, मानविकि सङ्काय, शिक्षा र विज्ञान सङ्कायका द्वितीय वर्ष तथा कानुन सङ्काय स्नातक र स्नातकोत्तर तह तथा मानविकी सङ्कायका स्नातकोत्तर तहका पाँच विषयमा परीक्षाफल प्रकाशित गरिएको छ । यसैगरी उहाँले चाँडै नै स्नातक तह व्यवस्थापन र मानविकि सङ्कायको प्रथम वर्षको परीक्षाफल पनि प्रकाशित गरिने जानकारी दिनुभयो ।