Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

गुल्मी । गुल्मीमा बाढी र पहिरोका कारण एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा ९ वर्षकी बालिका अपिच्छा खत्री बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसन्त सारुको घर बगाउँदा उनको १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको हो ।

बालिकाकी आमा २८ वर्षीय इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले जीवितै उद्धार गरेका छन् । पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल पुर्दा होटलमा बास बसेका एक जना सम्पर्कबिहीन भएको स्थानीय रामबहादुर केसीले बताए ।पहिरोमा परी वेपत्ता भएकी बालिकाको हजुरबुवा ६३ वर्षका टिकाबहादुर खत्री घाइते भएका छन् । गएराति झण्डै १२ बजेतिर बस्तीभन्दा पाँच सय मिटर माथिबाट पहिरो खसेको हो ।

पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएको स्थानीयले बताएका छन् । घटनाको जानकारी पाएपछि शुक्रबार बिहानै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटनास्थलतर्फ गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।