Jagaran Nepal बिहिबार, आषाढ १८, २०७७

काठमाडौँ । न्युजिल्याण्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कले राजीनामा दिएका छन्। उनले राजीनामा दिएकोबारे प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले बिहीबार जानकारी गराएका हुन्।

लकडाउनको नियमविपरीत आफ्ना परिवारसँग समुन्द्री किनारा ‘बिच’मा घुम्न गएपछि उनको चर्को आलोचना भएको थियो। उनले राजीनामा दिँदै पद नछाडी कामलाई निरन्तरता दिए सरकारले कोरोनाभाइरसविरूद्ध गर्दै आएको काममा असर पर्ने बताए।

यसअघि पनि उनले लकडाउन उल्लंघन गरेको भन्दै आलोचना भएको थियो। लकडाउनको सुरू (अप्रिल महिना) मै उनी आफ्नो परिवारसँग २० किलोमिटर पर रहेको ‘बिच’मा गएका थिए।

सँगै माउन्टेन बाइकिङ पनि गएका थिए। उनले पहिला नै राजीनामाको प्रस्ताव राखे पनि महामारीको संकटका कारण स्वीकृत भएको थिएन। अहिले त्यहाँका शिक्षा मन्त्री क्रिस हप्किन्सले जिम्मेवारी सम्हाल्नेका छन्।

न्युजिल्याण्डले कोरोनाभाइरस न्यूनीकरण गर्न चालेका कदमहरूको प्रशंसा समेत भएको छ। त्यहाँ अहिलेसम्म एक हजार ५ सय २८ संक्रमित भेटिएका थिए भने २२ जनाले ज्यान गुमाइसकेका छन्।

न्युजिल्याण्ड सरकारले आफ्ना अन्तिम संक्रमित सबै निको भएको भन्दै कोरोनाबाट मुक्त भएको समेत घोषणा गरिसकेको थियो। तर फेरि बाहिरबाट आएका दुई जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो।

यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच कोरोनाका बारेमा कुराकानी भएको छ । कोरोनासँगै दुई पक्षीय सरोकारका विविध विषयमा छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन् ।कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकहरुको सूचीमा अग्रस्थानमा रहेका दुवै देशका शीर्ष नेताहरुले कोरोना भाइरसबाट भइरहेको क्षति न्युनिकरणका लागि के के प्रयास भइरहेको छ भन्ने बारेमा अनुभव आदानप्रदान गरेका थिए ।

त्यसैगरी उनीहरुले भावी दिनमा कोरोनाका लागि र अन्य विषयमा के कसरी सहकार्य गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल गरेका थिए । भारतीय अधिकारीका अनुसार उनीहरुले टेलिफोन कुराकानीका क्रममा यही वर्ष भारतमा हुने भनिएको वार्षिक सम्मेलनबारेमा पनि छलफल गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशमा हुने सम्मेलनमा स्वागत गर्न आफु प्रतिक्षारत रहेको बताएका थिए । आफ्नो देशमा स्वागत गर्न प्रतिक्षारत रहेको मोदीको भनाईप्रति पुटिनले धन्यवाद ज्ञापन गरेका थिए । कुराकानीका क्रममा संविधान संशोधन गरेर कार्याकाल लम्ब्याउन सफल भएको र संविधान संशोधनको प्रस्तावमा अत्यधिक मत प्राप्त गरेकोप्रति प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई बधाई दिएका थिए ।