Jagaran Nepal बिहिबार, आषाढ १८, २०७७

काठमाडौं । सिमा विवाद सुल्झाउन नेपालले पटक पटक गरेको आग्रह अटेरी गर्दै आएको भारतका लागि अब भने भारतकै लागि महंगो पर्न थालेको भारतीय सञ्चार माध्यमहरुले नै उल्ल्ेख गरेका छन् । सोमवारको आजतक र बीबीसी हिन्दीमा यस्तै समाचार बनाइएका छन् ।

नेपालसंगको सिमा विवादका कारण अहिले नेपाली मजदुर नआउँदा भारतको हिमाचलमा स्याउ कुहिन थालेको छ । हिमाचलमा स्याउ टिप्ने, प्याकिगं गर्ने र ढुवानी हुने कामका लागि नेपाली मजदुर प्रयोग हुँदै आएका छन् । सिजन सुरु हुनुभन्दा एक महिना अघि नै नेपाली मजदुर हिमाचल पुग्ने गरेका थिए । तर अहिले स्याउ खसेर भुइभरी भइसक्दा पनि मजदुर नपाएर स्याउ कृषकहरु अप्ठेरोमा परेका छन् । स्याउ किसानले नै नेपाल भारत सिमा समस्या छिटो समाधान गर्न भारत सरकारलाई दवाव दिन थालेका छन् ।

करिब पाँच लाख नेपाली मजदूर हिमाचल प्रदेशमा स्याउको काम गर्न पुग्छन् । तर लकडाउनको कारण नेपाल आएका उनीहरु भारत फर्कीएका छैनन् । स्याउ किसानले काममा फर्कन पटक पटक गरेको आग्रह नेपाली मजदुरले अस्विकार गरेका छन् । केही मजदुरको खातामा पहिले नै पैसा पठाउँदा पनि नेपालीले पैसा फिर्ता गरिदिएका छन् । केहीले अर्को वर्षको काममा मिलाउँला भन्ने जवाफ पठाएको बीबीसी हिन्दीले लेखेको छ । मार्च–अप्रिलदेखि नै नेपाली मजदुर हिमाचल प्रदेशमा पुग्ने गरेका थिए । तर अहिले किसानले बोलाउँदा पनि नेपाली गएका छैनन् ।

बीबीसी हिन्दीसँग हिमाचल प्रदेशका बागवानी मन्त्री नरेन्दर ब्राग्ताले भने, नेपाल भारत सिमा विवादका कारण नेपाली मजदुर काममा फर्कन नचाहेको आफुले बुझेको बताएका छन् । आफुले ब्यक्तिगत रुपमा बोलाएका नेपाली मजदुरले त्यस्तै जवाफ दिएको उनको भनाई छ । मन्त्री ब्राग्ताको पनि ठूलो स्याउ बगान छ । उनको आफ्नै बगानको स्याउ खेर जाने अवस्थामा पुगेको छ । उनका अनुसार मुख्यमन्त्री जयराम ठाकुरले नेपाली मजदुरको अभावका बारेमा विदेशमन्त्रालयमा कुरा राखिसकेका छन् । केन्द्रीय गृहमन्त्री अमित शाहसँग पनि यसबारे सम्पर्क गरेर छिटो समस्या समाधान गर्न आग्रह गरेको बताएका छन् ।

सोही क्षेत्रका जोगिन्दर चौहानले बीबीसी हिन्दीसँग भनेका छन्, ‘नेपाली मजदूरको बैंक खातामा बैनाबापतको रकम पनि जम्मा गरिसकेको थिएँ, तर अहिले नेपाली मजदूरले फोन गरेर सीमामा प्रतिबन्धका कारण आफूहरु आउन नसकेको जानकारी गराएका छन्, केहीले पैसा फिर्ता गरिदिने बताएका छन् भने केहीले अर्को वर्ष मिलाउने प्रतिबद्धता जनाएका छन् ।’

उनीहरुले नेपाली मजदुर काममा फर्किए हिमाचलमा जारी कडा लकडाउन पनि परिवर्तन गर्ने बताएका छन् । उनीहरुले स्याउ बगानमै क्वारेन्टिनको ब्यवस्था मिलाउने बताएका छन् । नेपाली मजदूर स्याउको बगानमा काम गर्न प्रख्यात मानिन्छन् । उनीहरु स्याउको बाकस उठाउने, पहाडी साँघुरो बाटोमा बाकस बोकेर हिँड्न पोख्त हुने भएकाले हिमाचलमा नेपाली मजदुरको माग ठूलो छ ।

हिमाचलमा मात्र होइन भारतको बिहार राज्यमा रहेको सीमावर्ती वजार पनि नेपाल भारतबीचको सिमा विवादको मारमा परेको छ । रक्सौल बजार अहिले सुनसान छ । ९० प्रतिशत नेपालीले धानेको सो वजार अहिले सुनसान बनेको छ । लकडाउन खुलेको २४ दिन हुँदा पनि ग्राहक कुरेर बसेका पसले रित्तो भएका छन् । अब एक महिना थप यस्तै अवस्था रहे पसल नै बन्द गर्नु पर्ने अवस्थामा पुगेको रक्सौलका ब्यापारीले बताएका छन् ।