Jagaran Nepal मंगलबार, आषाढ १६, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ३१६ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म देशभर १३ हजार ५६४ जना संक्रमित पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिने कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले १० हजार ३ सय ४१ जना संक्रमितहरू उपचारका क्रममा रहेको बताउनुभयाे । गौतमका अनुसार गत २४ घन्टामा ६० जना डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणाबाट ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ ।पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत छन् ।

काठमाडौंमा एकै दिन १२ जना संक्रमित थपिए

मंगलबार पुष्टि भएका ३१६ जना कोरोना संक्रमित मध्ये १२ जना काठमाडौंका रहेका छन् । काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित भेटिएकामा ५ महिला र ७ जना पुरुष रहेका छन ।

यस्तै ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।