Jagaran Nepal आइतबार, आषाढ १४, २०७७

प्रधानमन्त्री केपी ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको दाबी गरेका छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेका कारण आफूलाई भारतले प्रधानमन्त्रीबाट च्युत गर्न खोजेको दाबी ओलीको छ । भारतीय सञ्चार माध्यमले नेपालमा प्रधानमन्त्री परिवर्तनको हल्ला चलाइरहेको भन्दै उनले त्यो भारतीय सञ्चार माध्यमको मात्र नभई भारतीय राजनीतिक नेतृत्वकै लाइन भएको उल्लेख गरे ।

‘भारतीय मिडियाले १६५ दिनभित्र नेपालमा प्रधानमन्त्री परिवर्तन हुँदैछ भनेर हल्ला चलाएका छन्’, मदन भण्डारी फाउण्डेसनले शनिबार बालुवाटारमा गरेको कार्यक्रममा ओलीले भने, ‘नेपालका नेता पनि त्यो खेलमा लागेका छन् ।’ पहिलोपटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेका कारण हटाइएको र यसपटक नक्सा जारी गरेका कारण हटाउँन खोजिँदैछ ।’

उनले नेपालका नेताहरुसेमत तत्काल केपी ओलीलाई नहटाई हुँदैन भनेर लागिपरेको जिकिर उनले गरे । उनले आफूलाई हटाउन नेपालका होटलहरुमा गतिविधि भइरहेको र नेपालस्थित भारतीय दूतावासको सक्रियता बढेको उल्लेख गरे । तर, उनीहरुको सपना पूरा नहुने चेतावी ओलीले दिए ।

‘नेपालको नक्सा जारी गरेकै कारण प्रधानमन्त्री हट्ने राष्ट्रियता नेपालको होइन’, उनले भने, ‘कसैले नसोचे हुन्छ। नेपालको राष्ट्रियता कमजोर छैन ।’

उनले आफूलाई पदमा बस्ने मन नभए पनि आफू हटेपछि नेपालका पक्षमा बोल्ने कोही नहुने भएकाले बसिरहेको जिकिर गरे ।