Jagaran Nepal आइतबार, आषाढ १४, २०७७

काठमाडौं । काम नगर्ने कर्मचारीहरुका लागि दुःखद खबर आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक विदा गर्ने बताउनु भएको छ ।

आइतबार मन्त्रालयमा आयोजित एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षको सुरुबाटै काममा ‘प्रोएक्टिभ’ भएर लाग्न निर्देश गर्नुभएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गरेर बैठकबारे जानकारी दिएको हो । विज्ञप्तिमा भट्टराईलाई उद्धृत गर्दै भनिएको छ, ‘अहिल्यै मैले पूर्वसूचना गरेको छु । साउनबाट हामी काममा प्रोएक्टिभ भएर लाग्छौं ।

राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यस बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नुहोला ।’ आफूले प्रधानमन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै उहाँले थप भन्नुभयो, ‘तपाईंहरूले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ । उक्त सम्झौताअनुसार काम भएरनभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कारबाही जे गर्नुपर्ने हो, त्यो गरिन्छ ।’

मन्त्री भट्टराईले चालू वर्षमा सम्पन्न हुन बाँकी काम १५ दिनभित्र पूरा गरिसक्न पनि निर्देशन दिनु भएको छ । साथै कोरोना महामारीका कारण बन्द रहेका सबै विमानस्थल सञ्चालन गर्ने गरी प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि जारी भएको प्रोटोकल कार्यान्वयन र अनुगमन गर्न पनि सम्बन्धित सबैलाई निर्देशन जारी गरिएको छ ।