Jagaran Nepal आइतबार, आषाढ १४, २०७७

‘कोमल वली’ नाम सुन्नेबित्तिकै धेरैको मनमा एक खालको बिम्ब चित्रित हुन्छ, लोकप्रिय लोक गायिका, जो चञ्चल भावका गीत गाउँछिन्, गीतमार्फत पोइल जाने रहर अभिव्यक्त गर्छिन्, पोइ (लोग्ने) माग्छिन्, रेडियो नेपालमा समाचार मधुरस वाचन गर्छिन्, सुन्दर र अविवाहित छिन्, । धेरैका लागि उनको पहिचानको आधार यस्तैयस्तै कुरा हुन् ।

तर, अहिले कोमल वलीको परिचय, जीवनशैली, दर्शन र मान्यतामा ठूलो अदलाबदली आएको छ । कुनै बेला दर्शकलाई मनोरञ्जन दिलाउन स्टेज चढ्ने कोमल केही वर्षयता ‘भाषण’ गर्न मञ्चमा उभिन्छिन् ।

विगतमा कुनै पनि विषयमाथि फ्याट्ट टिप्पणी गरिहाल्ने उनको भनाइमा अहिले अभिव्यञ्जना झल्किन्छ । हिजोआज उनी धेरै कुरा तौलिएर मात्र बोल्छिन् । पहिलापहिला पत्रिका पढ्दा कला, साहित्य र मनोरञ्जन पेजमा डुल्ने उनका आँखा अहिले विचार पेज र राजनीतिक समाचार तथा टिप्पणीतिर जान्छन् ।

थोरै फुर्सद हुनेबित्तिकै उनी अपडेटेड समाचार पढ्न आफ्नो मोबाइलमा अनलाइन पोर्टलहरू स्क्रल गर्न थाल्छिन् । माया र प्रेमसँग सम्बन्धित कथा र उपन्यास पढ्ने कोमल अहिले दर्शन र सिद्धान्तमाथि लेखिएका पुस्तकहरू पढ्छिन् । प्रदेश ५ की कोमल अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध छिन् । नेकपाकै तर्फबाट संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको सदस्य बनेकी उनको कार्यकाल ४ वर्षको छ ।

त्यसैले विगतमा सहकर्मी, कलाकारसँग बढी समय बिताउने कोमल हिजोआज नीति निर्माण तहको बैठक तथा छलफलमा व्यस्त हुन्छिन् । अर्थात्, उनी सांगीतिकभन्दा राजनीतिक गतिविधिमा बढी सक्रिय छिन् ।

उनी पहिले विभिन्न ग्ल्यामरस पहिरनमा देखिन्थिन् भने अहिले प्रायः सारीमा देखिने गरेकी छन् ।

उनी बदलिनुको प्रमुख कारण हो राजनीति । सञ्चारकर्म र गायनमा स्थापित कोमल केही वर्षयता राजनीतिमा सकृय छिन् । आज उनै कोमलको फरक पाटोबारे हामीले चर्चा गरेका छौँ, २३ वर्षदेखिको रेडियो नेपालको जागिरलाई बिट मारेर तथा गायनको गति कम गरेर आखिर उनी किन राजनीतिमा हाम्फालिन् ? राजनीतिमा आएर उनी के गर्न चाहन्छिन्, के बन्न चाहन्छिन् ?

राजनीति शून्य, खेल र कलाकारिता बढी

दाङको टिकरी गाउँमा बुबा ललितबहादुर ओली र आमा दीपाकी दोस्रो सन्तान कोमल सानैदेखि टाठी थिइन् । परिवारमा उनका दाई, भाइ र एक बहिनी छन् । साथीसंगी र शिक्षकहरूकी प्रिय थिइन् उनी । प्राथमिक तहको अध्ययन दोघरे प्राविमा गरेकी उनले तुल्सीपुरको महेन्द्र माविबाट एसएलसी गरिन् । उनी विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा भाग लिन कहिल्यै छुटाउदिन थिइन् । नाच्ने, गाउने र खेल्ने क्रियाकलापमा त उनी झनै अब्बल । अर्थात्, सानैदेखि उनलाई आफूभित्रको कलाकारिताले कुतकुत्याइरहन्थ्यो ।

विद्यालयमा उनी भलिवलकी अब्बल थिइन् । ‘म फुटबल, एथलेटिक्स पनि खेल्थेँ, खेलकुदको मेरा गुरु पोषणराज रेग्मीले भन्नुहुन्थ्यो– मेरी बच्ची कोमललाई मात्र कति गेम खेलाऊँ’, उनी सम्झिन्छिन्, ‘किनभने त्यतिबेला छोरीहरू खेल्न मान्दैन थिए, खेलकुदमा उनीहरूको ध्यानै थिएन ।’ अतिरिक्त क्रियाकलाप नछुटाइ भाग लिने भएकाले शिक्षकहरूले उनलाई व्यस्त विद्यार्थी भनेर जिस्काउँथे ।

उनका आमाबुबा नै कलाकार भएकाले नाच्ने, गाउने, खेल्ने कुरामा उनलाई खासै रोकतोक हुँदैन थियो । जबकि, त्यतिबेलाको समाजले महिलाले नाच्दा उत्ताउली र खेल्दा बिग्रेकी भन्थ्यो । सानैदेखि उनलाई कहिल्यै लाग्दैन थियो, कुनै समय आउनेछ जहाँ उनी एक राजनीतिज्ञका रूपमा उभिएकी हुनेछिन् । कलाकारिताको लालसा भने उनीमा सानैदेखि थियो ।

शिक्षिका बन्न चाहन्थिन्

सानैदेखि चञ्चल स्वभावकी कोमल आफूलाई पढाउने केही शिक्षिकाबाट प्रभावित थिइन् । त्यसैले उनी भविष्यमा एक असल शिक्षिका बन्न चाहन्थिन् । ‘बाटोमा हिँड्दा कतै मन्दिर देखेँ भने वा बत्ती बाल्न मन्दिर जाँदा भगवानसँग मनमनै वरदान माग्थेँ–मलाई छिट्टै तरुनी बनाइदेऊ, मलाई मिस बनाइदेऊ, राम्री बनाइदेऊ’, कोमल भन्छिन् ।

खेल्नका लागि काठमाडौं

स्कुले जीवनमै उनी कुशल खेलाडीका रूपमा परिचित भइसकेकी थिइन् । त्यसैले खेलकुदको सिलसिलामा पहिलो पटक २०४१ सालमा काठमाडौं आइन् । २०४४ सालमा उनी आफ्नी बहिनी प्रज्ञाको गीत रेडियो नेपालमा रेकर्ड गराउने उद्देश्यले काठमाडौं आएकी थिइन् । त्यसपछि उनका लागि रेडियो नेपालको ढोका खुल्यो र काठमाडौं आउने जाने भइरह्यो । र, गीत रेकर्डिङ गर्न बेला–बेला आउजाउ गर्न थालिन् । ०४९ सालमा रेडियो नेपालमा काम पाउने छाँटकाँट देखेपछि उनी नयाँ बजारमा डेरा लिएर भाइ पढाउँदै बस्ने गरी काठमाडौं आइन् ।

अपेक्षाअनुसार उनले रेडियो नेपालमा रहेर समाचारमा काम गर्ने अवसर पाइन् । रेडियो नेपालमा काम गर्दागर्दै उनले दर्जनौँ गीत गाइन् । ‘रेडियो नेपालमै काम गरेकाले मलाई अलि सजिलो भयो’, उनी भन्छिन्, ‘म पहिलेदेखि नै सक्रिय स्वभावकी छु । त्यसैले समाचार वाचनसँगै गायनलाई पनि निरन्तरता दिँदै गएँ ।’ ‘पोइल जान पाम’, ‘लास्टै चोटी हो’लगायत उनका चर्चित गीत हुन् । रमाइलो कुरा त, उनी गायिकाका रूपमा जति चर्चित छिन्, त्यति नै चर्चा समाचार वाचिकाका रूपमा हुने गरेको छ । बरु उनको रुचि, क्षमताको अर्को विधामा उनलाई धेरैले चिन्दैनन् । उनी एक कुशल खेलाडी पनि हुन् । खेल्नकै लागि उनी बंगलादेशसम्म पुगेकी थिइन् ।

त्यसपछि राजनीतिमा..

चलाख कोमलले रेडियोमा काम गर्दा बनेको सम्बन्धको बेलैमा सदुपयोग गरिन् । २०५० सालदेखि करिब २ दशक रेडियोमा समाचार वाचन गरेकी उनी ६ फागुन २०७३ मा राजीनामा गरी ७ गते राप्रपाको केन्द्रीय महधिवेसनमा उम्मेदवारी दिन पुगेकी थिइन् । उनी भारी मतले राप्रपा केन्द्रीय सदस्यमा विजयी भइन् ।

रेडियोमा काम गर्दागर्दै उनले राजनीतिमा होमिने योजना बनाएकी थिइन् । त्यसपछि कुन पार्टीबाट राजनीति गर्ने भन्ने निरिक्यौल गर्न उनलाई केही समय लाग्यो । प्रायः सबै पार्टीका नेताहरूसँग नजिक रहेकी उनी अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टीमा जाने निर्णयमा पुगेकी थिइन् । राजतन्त्र र हिन्दू राज्यको एजेन्डा उनलाई मन परेको थियो । तत्कालीन एमालेका अध्यक्ष केपी ओलीसँग पनि उनको सम्बन्ध राम्रै थियो ।

तर, ओलीभन्दा पहिला कमल थापा, पशुपति शमशेर राणा र लोकेन्द्रबहादुर चन्दले उनलाई पार्टीमा प्रवेश गर्न आग्रह गरे । त्यहीअनुसार उनी राप्रपाको राजनीतिमा होमिएकी थिइन् ।

‘रेडियोमा काम गर्दा होस् वा सांगीतिक क्षेत्रमा रहँदा मलाई समाजसँग नजिक रहेर काम गर्ने अवसर मिल्यो’, उनी भन्छिन्, ‘राजनीतिज्ञहरूसँग निकट सम्बन्ध बन्यो । देशको सामाजिक, आर्थिक क्षेत्रबारे जानकार रहेँ । त्यसैले मलाई राजनीतिमा आउन मोटिभेट गर्याे । र, सबै कुरा छोडेर राजनीतिमा आएँ ।’

यद्यपि, राजनीतिमा उनको यात्रा अस्थिर देखियो । केही समयपछि नै राप्रपा छाडेर उनी तत्कालीन एमालेमा प्रवेश गरिन् । जबकि, यी २ पार्टीको वैचारिक धरातल आकाश–जमिनजस्तै फराकिलो र टाढा छ ।

यसबारे उनी भन्छिन्, ‘कुन दलबाट राजनीतिमा प्रवेश गरेँ वा गर्ने कुरालाई मैले खासै महत्त्व दिइनँ । पछि कम्युनिजम ठीक लाग्यो । र एमालेबाटै राजनीति गर्ने तय गरेँ ।’

पहिलो पटक संसदमा बोल्दा

एमालेले पछि उनलाई राष्ट्रिय सभाको सदस्य बनायो । राष्ट्रिय सभामा पहिलो पटक बोल्न पाएको क्षणलाई उनी अविष्मरणीय मान्छिन् । ‘पहिलापहिला ठुल्ठूला कार्यक्रममा बोल्दा पनि कहिल्यै त्यस्तो भावना उर्लेको थिएन तर पहिलोपटक संसदमा बोल्दा मेरो छाति गर्वले फुल्यो । छुट्टै खालको आनन्द महसुस भयो । अहिले पनि उनी संसदमा सार्वजनिक सरोकारका विषय र आम नागरिकका समस्यालाई कलात्मक रूपमा प्रस्तुत गर्छिन् ।

राष्ट्रिय सभामा उनी हरेक विषयमा खरो उत्रिन्छिन् र विषयगत दक्षता प्रदर्शन गर्छिन् जसले गर्दा संसदीय अभ्यासमा उनी निखारिँदै गएकी छन् ।

सांसदले जिस्काउँछन्

उनी अहिले ‘माननीय’ को हैसियतमा छिन् । राष्ट्रिय सभाको बैठक हुँदा लामो समय राजनीति गरेका व्यक्तिहरूसँग कोमलको भेटघाट तथा कुराकानी हुन्छ । त्यसबाहेक विशेष सन्दर्भमा उनी शीर्ष नेताहरूलाई पनि भेट्न पुग्छिन् ।

यस्तो बेला नेताहरूले तपाईंसँग कस्तो व्यवहार गर्छन् ? एउटी जुनियर राजनीतिज्ञका रूपमा वा गायिका, पूर्वसञ्चारकर्मीका रूपमा ?

मुस्कुराउँदै जवाफमा कोमल भन्छिन्, ‘राजनीतिको एउटा सीमा हुन्छ । म मेरा नेताहरूलाई समय लिएर निश्चित विषयमा मात्र केन्द्रित रहेर भेटघाट गर्छु । आफ्नो विचार राख्छु र सल्लाह लिन्छु । त्यहाँ अरु कुरा गर्ने वातावरण र समय नै हुँदैन । तथापि, सबै नेताहरूबाट मैले आदर, माया र सद्भाव पाउने गरेकी छु । बरु संसदमा कतिपय माननीयज्यू गीतसंगीतका कुरा गरेर जिस्कनुहुन्छ । उहाँहरूसँग रमाइलो कुराकानी हुन्छ ।’

अहिले पाँचौं प्रेमीसँग

जीवनमा कुनै युवकसँग प्रेम भएन ? हिजोआज यस्तो प्रश्नमा कोमलको जवाफ अलि कुटिल हुन्छ । उनी भन्छिन्, ‘संगीतसँग मेरो पहिलो प्रेम थियो । संगीतले नै मलाई जीवनमा रङ भर्न सिकायो । मेरो अर्काे प्रेम स्वरसँग थियो, जसले सधैँ साथ दियो । म आफ्ना प्रेमीहरू गीत, संगीत र स्वरका कारण जनजनको मनमा बस्न सफल भएकी छु । त्यसपछिको प्रेम मेरो खेलसँग थियो । खेलका कारण म पहिलो पटक बंगलादेशमा सनफ खेल्न जान पाएँ । खेलकै कारण सधैँ स्वस्थ, तन्दुरुस्त छु । त्यसपछिको प्रेम मेरो सञ्चारसँग पर्‍यो । यही नै मेरो संसार थियो र छ ।

यसले मलाई समाजसँग अझ नजिक बनायो, समाजलाई चिन्ने र बुझ्ने अवसर दियो । अहिले मेरो प्रेम राजनीतिसँग छ । उमङ्ग ऊर्जा मिलिरहेको छ, जनतालाई केन्द्रमा राखेर पार्टीको सिद्धान्तलाई मार्गनिर्देशक बनाएर सेवामा होमिएकी छु । मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर लागी परेकी छु । अर्थात् अहिले म आफ्नो जीवनको पाँचौं प्रेमी (राजनीति) सँग छु ।’

त्यसो त विवाहका विषयमा पनि हिजोआज उनीसँग रेडिमेट जवाफ छ । आफ्ना अधिकांश गीतमा उत्ताउलोपन झल्काउने शब्द प्रयोग गरेकी कोमल विवाह नगर्ने ? भन्ने प्रश्नमा जवाफ दिँदै भन्छिन्, ‘विवाह भन्ने कुरा स्वैच्छिक विषय हो, यसलाई म सार्वजनिक छलफलको विषय बनाउन चाहान्नँ ।’

पहिरन: पहिला ग्ल्यामरस देखिने कोमल हिजोआज प्रायः सारीचोलो नै लगाउँछिन् । ‘आजभोलि म सारीचोलो नै बढी लगाउँछु । सलवार कुर्ता र कहिलेकाहीँ कोटपाइन्ट पनि लगाउँछु । कस्तो अवस्था छ, कस्तो पोसाक लगाउन उपयुक्त हुन्छ, त्यसैअनुसार पहिरिन्छु’, उनी भन्छिन् । कस्तो पोसाक लगाउने भन्ने कुरा उनकी बहिनीले सुझाउने गरेकी छन् ।

योजना : उनी अहिले आफ्नो सम्पूर्ण ध्यान राजनीतितिर केन्द्रित रहेको बताउँछिन् । ‘आगामी दिनमा राजनीतिक जीवनलाई अझै सशक्त पारेर लैजानु छ’, उनी भन्छिन्, ‘समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल पार्न भूमिका खेल्नु छ । जनताका वास्तविक समस्या समाधानका लागि पहल गर्नु छ । सिद्धान्तमा सीमित राजनीतिलाई व्यवहारतः लागू गर्नुछ ।’
शिलापत्रबाट साभार