Jagaran Nepal शुक्रबार, आषाढ १२, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दोस्रो स्थायी कमिटी बैठक शुक्रबार सम्पन्न भएको छ।

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको रहस्यमय अनुपस्थिति रह्यो।

उनी बैठकमा आएर काम परेर बाहिर निस्केको नभई बैठकमानै अनुपस्थित भएका हुन।

बैठकमा सहभागी नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेल मार्फत बैठकमा आफु जरुरी काम परेकोले आउन नसक्ने सन्देश पठाएका थिए।

उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक संचालन गर्नु भनि सन्देश पठाएका थिए।

बैठक अध्यक्ष दाहालले सञ्चालन गरेपनि दुवै अध्यक्षका लागि सोफा राखिएको थियो। प्रधानमन्त्री ओली उपस्थित नभएपनि दुई सोफा राखेरै बैठक सञ्चालन हुँदै थियो।

नेकपा नेता नारायणकाजी श्रेष्ठ र अर्का नेता भीम रावलले विरोध जनाएपछि एउटा सोफा हटाइएको हो।

बैठकमा नेकपा प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा समन्तीपारा भनेर बिरोध गरेका थिए भने नेता रावलले पनि कड्केर बोलेका थिए।

त्यसपछि अध्यक्ष दाहालले सोफा हटाउन निर्देशन दिएका थिए।

नेकपाको विधानमा स्थायी कमिटी बैठक ३–३ महिनामा बस्ने भनेर व्यवस्था छ। लामो समयदेखि स्थायी कमिटी बैठक बस्न सकेको थिएन।

पार्टी र सरकारका काम कारवाहीबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउन स्थायी समितीको बैठक बोलाउन माग गरेका नेताहरु शुक्रबारको बैठकमा ओलीकै अनुपस्थिती भएपछि झन् चिढिएका छन्।

सरकार र पार्टी सञ्चालनको समीक्षाका सन्दर्भमा कोशेढुङ्गा मानिने बैठकमा सदस्यका कुरा सुन्ने धैर्यता पार्टी र सरकार दुवैको बागडोर सम्हालिरहेका ओलीले गुमाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

कतिपयले प्रधानमन्त्रीको यो शैलीलाई आफ्ना कुरा राखेपछि अरुका कुरै नसुन्ने र आलोचना सहनै नसक्ने प्रवृत्तिको संज्ञा दिएका छन्।

यसअघीको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीबाटै सरकारलाई सहयोग नभएको तथा सरकारका राम्रा कामले प्रशंसा नपाएको गुनासो गरेका थिए।

त्यसको ठीक विपरित अर्का अध्यक्ष दाहालले सरकारका काम कारवाही ठिक दिशामा नरहेको भन्दै यस्तै अवस्था रहे पार्टी विभाजन तर्फ जाने चेतावनी समेत दिएका थिए।

शुक्रबारको बैठकमा १८ जनाले आफ्नो धारणा राखेका थिए। अर्को बैठक भोलि ११ बजे पूनः बस्ने छ।

बैठकका घटनाक्रम र नेकपा स्थायी कमिटी बैठकले निकाल्ने निष्कर्षलाई चासोका साथ हेरिएको छ।