Jagaran Nepal शुक्रबार, आषाढ १२, २०७७

सत्तारुढ नेकपा स्थायी समितिको बैठकमा भारतीय सीमा क्षेत्रमा पर्खाल वा तारबार लगाउनुपर्ने आवाज उठेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यले सीमा क्षेत्रमा सीमा बन्द गर्नुपर्ने आवाज उठाएका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गर्नु सकारात्मक भन्दै सुस्तासहित अतिक्रमित क्षेत्र पनि फिर्ता ल्याउनुपर्ने आवाज बैठकमा उठेकोे बताए ।

उनका अनुसार बैठकमा १८ स्थायी समिति सदस्यले धारणा राखेका थिए । यस्तै बैठकमा परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले सीमा समस्या समाधानका लागि पटकपटक प्रयास गर्दा पनि भारतले चासो नदिएको बताए । उनले तीनपटक पत्राचार गर्दा पनि भारतीय पक्षले जवाफ नदिएकाले भारत वार्ताबाट समस्याको निकाश खोज्ने पक्षमा गम्भीर नदेखिएको धाराण व्यक्त गरे ।

बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली भने सहभागी भएनन् । आफ्नै निवासमा बसेको बैठकमा समेत नआएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओली बैठकबाट भाग्न खोजेको आरोप लगाएका छन् ।ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेको थियो । अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।