Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

काठमाडौं । कोरोनाको औषधि बनाएको दाबी गर्ने बाबा रामदेव खुबै चर्चामा रहेका छन् । कोरोनाको औषधि ‘कोरोनिल’ बनाएको दाबी गरे पनि त्यसले उनी विवादमा परेका छन् । रामदेवले पतञ्जलीका तर्फबाट मंगलबार एक कार्यक्रममा औषधि सार्वजनिक गरेपछि उनी विवादमा आएका हुन्।

उक्त कार्यक्रमको पाँच घण्टापछि ‘कोरोनिल’ नामक औषधिको विज्ञापनमा भारत सरकारले रोक लगाएको छ। यससँगै सरकारले भनेको छ, ‘बिनाअनुमति औषधि बेच्नु र उपचार गर्नु गलत हो। त्यसैले अनुसन्धानको सबै बेहोरा जानकारी गराउनु पर्नेछ।’ रामदेवले भने परीक्षणपछि मात्र औषधि बजारमा ल्याइएको दाबी गरेका छन्। भारतको जयपुरस्थित गान्धी नगर प्रहरी चौकीमा रामदेवविरुद्ध उजुरी परेको छ।

जयपुरका डा. सञ्जीव गुप्ताले उजुरी गरेका हुन्। रामदेवले कोरोनाको औषधि बनाएको दाबी गरेर मानिसमा भ्रम छरेको उनको जिकिर छ। नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्स (निम्स)मा पनि यो विषयमा विवाद छ। निम्स र रामदेवले औषधिको परीक्षण गरिएको बताए पनि आयुष मन्त्रालयले यसको विरोध गरेको छ। स्रोतका अनुसार मन्त्रालयले अब यी संस्थाको पनि परीक्षणको जाँच गर्ने भएको छ।
-janaboli