Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

बझाङ, ११ असार । असार महिनामा किसानहरुलाई रोपाइँको चटारोले भ्याई–नभ्याई छ । कतिले रोपाइँ सिध्याएका छन् भने कतिपयले सुरु गर्दै छन् । बझाङमै पनि कतिपय ठाँउमा रोपाइँ सुरु भएको छैन भने कतिपय ठाँउमा सकिन लागेको छ । तर जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्वर ६ को थली जिउलोमा भने अचम्मको चलन रहेको छ । जहाँ एकै दिन रोपाइँ र एकै दिन धान काट्ने काम सुरु गर्ने चलन पुस्तौँदेखि चलिआएको छ ।

पहिला–पहिला महिनावारी भएका महिला र युवतीहरुले रोप्न नपाउने चलन रहेको भए पनि अहिले भने रोप्न सुरु गरेका छन् । पुस्तौँदेखिको चलनअनुसार थली जिउलामा बुधबारदेखि रोपाइँ सुरु भएको छ । अन्य ठाँउमा आफूहरुको समय मिलाएर रोपाइँ गर्ने चलन भए पनि यस क्षेत्रमा भने सबै एकै दिन सुरु गर्नु पर्दछ ।

थली जिउलोमा झण्डै एक सयभन्दा बढी परिवारको बसोवास रहेको छ । यहाँ पुजारा, जप्रेल, थापा, रोकाया, बुढा, चलाउने र सिंह थरका मानिसहरुको बसोबास रहेको छ । पुजाराहरुले रोपाइँ सुरु नगरेसम्म अन्य थरका कसैले पनि रोपाइँ सुरु नगर्ने चलन पुस्तौँदेखि चलिआएको छ । पुजारा परिवारले रोपाइँ सुरु गरेकै दिन अन्य थरकाले पनि सुरु गर्ने गरिन्छ । सोही अनुसार धान पनि काट्ने चलन रहेको स्थानीय नरेन्द्र दौल्यालले बताए ।

उनले भने, ‘पुजारा परिवारहरुले रोपाइँ सुरु नगरेसम्म अन्य थरका मानिसहरुले रोपाइँ सुरु गर्दैनन् । रोपाइँ सुरु गर्नुअघि रोपाइँमा जाने सवैले नुहाईधुवाई गरी शुद्ध भएर मात्रै रोपाइँ सुरु गर्ने चलन रहेको छ । रोपाइँ सुरु भएको दिन बिसौना चौरमा मेला लाग्ने भए पनि विस्तारै यो चलन हराउँदै गएको छ ।’

यसरी एकैसाथ धान रोप्दा फाँटभरि रमाइलो दृश्य समेत देखिने गर्छ । यसपटक पनि एकैसाथ पूरै फाँटमा रोपाइँ भएपछि त्यसमा आकाशको सेतो बादल परावर्तन भएरु रमाइलो दृश्य देखिएको छ ।

पहिले–पहिले थली जिउलामा एकै जातको धान लगाउने चलन भए पनि अहिले भने फरक–फरक जातको धान लगाउन थालिएको स्थानीय भैरव पुजाराले बताए । धान काट्ने बेला पनि सुरुमा पुजाराहरुले धानको बाला काटी दुर्गाको मन्दिरमा चढाई दुर्गालाई खिर पकाएर चढाउने चलन पनि रहेको छ । साविकको सैनपसेला र लेकगाउँका बासिन्दाबीच ‘मैलडो’ तानातान हुने गर्दछ । तर युवा पिँढीले चासो नदेखाएपछि यो चलन विस्तारै हराउँदै गएको उनको भनाइ छ ।